हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण खेल १-१ को बराबरीमा टुंगिएको छ।
दशरथ रंगशालामा केहीबेरअघि सम्पन्न खेलमा नेपालका तर्फबाट अन्जन विष्टले ३५औं मिनेटमा गोल गरेका थिए।
दोश्रो हातमा भारतका लागि अनिरुध थापाले गोल फर्काउँदै भारतलाइ एक-एकको स्थितिमा पुराएका थिए।
खेलको पहिलो हाफको दुबै टोलीले मध्यम सुरुवात गरेका थिए। खासै आक्रामक बन्न नसकेको नेपाली टोलीले भारतीय टिमलाई भने राम्रो मौका बनाउन बाट वञ्चित गरेको थियो।
खेलको ३५औँ मिनेटमा भारतका डिफेन्डरले गरेको गम्भीर गल्तीको भरपुर सदुपयोग गर्दै अन्जन विष्टले नेपाललाई अग्रता दिलाएका थिए। भारतीय टोली पहिलो हाफमा भने निकै निस्ताएको जस्तो देखिन्थ्यो।
भारतीय अग्रपंक्तिका खेलाडीहरुलाई रोक्नका लागि नेपाली मिडफिल्ड तथा डिफेन्डरले निकै राम्रो खेल प्रस्तुत गरे। प्राविधिक रूपमा केही कमजोरी भए तापनि खेलमा दुवै तर्फबाट भने निकै मिस पास देख्न पाइएको थियो।
एक गोलले पछि परेको अवस्थामा भारतले दोस्रो हाफको पनि निकै आक्रामक तरिकाले सुरु गरेको थियो। पहिलो हाफमा गरेको गल्तीलाई सुधार्दै भारतले दोस्रो हाफमा आफ्नो खेलको गति बढाएको थियो।
खेलको साठीऔँ मिनेटमा भारतीय कप्तान सुनिल क्षेत्रीले गरेको उत्कृष्ट प्रहारलाई बचाउने क्रममा किरण चेम्जोङले गरेको क्लिएरेन्सले सही दिशा लिन नपाउँदा भारत खेलमा फर्किएको थियो। किरणले क्लियर गरेको बल आफ्नै पोस्टको विपरीत दिशा तर्फ फर्किदा अनमार्क रहेका अनिरुध थापाले ट्याप इन गर्दै बराबरी गोल फर्काए।
पहिलो हाफको तुलनामा नेपालले पनि दोस्रो हाफमा निकै आक्रमक खेल प्रदर्शन गरेको थियो। खेलको गति सँगै केहि राम्रा अवसर बनाएका पनि गोल गर्न नसक्दा नेपालले भारतविरुद्ध ८ वर्षपछि जित नीकाल्ने मौका गुमाउन पुग्यो।
विश्व बरियतामा भारत भन्दा निकै तल रहेता पनि नेपालको खेल लोभलाग्दो थियो।खेलमा मनिष डाँगी, सुनिल बल र बिशाल राई प्रवेश गरेपछि भारतले बनाउदैं गरेको मिडफिल्डको आक्रामकता नेपालले तोड्न सफल भएको थियो।
खेलको अन्त्यतिर नेपाली टोलीले भारतीय टिमलाई पुरै दबाबमा राख्न सफल भएता पनि गोल भने गर्न सकेन।
नेपाल र भारत बीच अर्को खेल आगामी ५ तारिखमा हुदैछ।