हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| भारत भ्रमणमा रहेको विश्व टेस्ट च्याम्पियन न्यूजील्याण्डले भारत संगको पहिलो टेस्ट बराबरीमा टुंग्याउन सफल भएको छ।
२८४ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रिएको किवी टोलीले हारको मुखमा पुगेर खेललाई बराबरी गरेको थियो।
पाँचौं दिनको खेल समाप्तिमा ९ विकेट गुमाउँदै १६५ रन बनाएपछि खेल बराबरीमा सकिएको थियो।
दशौँ विकेटका लागि रचिन रविन्द्र र अजीज पटेलले दिनको अन्तिम १० ओभरमा १० रनको साझेदारी गर्दा किवी टोलीले खेल जोगाएको थियो।
खेलको पहिलो इनिङमा भारतले ३४५ रन बनाउँदा न्युजिल्यान्डले जवाफी ब्याटिङ गर्दै २९६ रन बनाएको थियो।
दोस्रो इनिङमा ४९ रनको अग्रता लिएर ब्याटिङ गरेको भारतले सात विकेटको नोक्सानीमा २३४ रन बनाएपछि आफ्नो पारी समाप्तीको घोषणा गरेको थियो।
जवाफमा २८४ रनको विजयी लक्ष्य पछ्याएको किवी टोलीले चौथो दिनको अन्तिम ४ ओभर र पाँचौं दिन पूर्ण ब्याटिङ गर्दै ९ विकेटको नोक्सानीमा १६५ रन बनाएको थियो।
न्यूजिल्याण्डको दोस्रो इनिंगको पारीमा ओपनर टम ल्याथमले सर्बाधिक ५२ रन जोडे भने विलियम समरबाइलले ३६ रन जोडे।
कप्तान केन विलियम्सनले २४ रन बनाउँदा राचिन रविन्द्रले नट आउट १८ रन जोडे।
भारतका तर्फबाट रविन्द्र जडेजाले सर्वाधिक ४ विकेट लिए भने रविचन्द्रन आश्विनले ३ तथा अक्षर पटेल र उमेश यादवले १-१ विकेट लिए।
१५५ रनमा ९ विकेट गुमाएको किवी टोलीको अन्तिम १० ओभरमा दशौँ विकेट लिन नसक्दा भारतीय टोलीले खेलमा १-० को अग्रता लिने अवसर खेर फालेको थियो।
टेस्टको पहिलो इनिङमा शतक सहित १०५ र दोस्रो इनिङमा ६५ रन बनाएका भारतीय ब्याट्सम्यान श्रेयस अय्यर खेलको म्यान अफ दि म्याच घोषित भए।
२ खेलको टेस्ट शृंखला अन्तर्गतको अन्तिम टेस्ट खेल ३ डिसेम्बरमा मुम्बईमा हुनेछ।