हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| रियल मड्रिडले आइतबार बेलुकी भएको खेलमा एटलेटीको मड्रिडलाई २-० गोल अन्तरले पराजित गर्दै सिजनको पहिलो मड्रिड डर्बी आफ्नो नाम गरेको छ।
घरेलु मैदान सान्टियागो बर्नबेउमा भएको खेलमा कप्तान करिम बेन्जेमा र मार्काे एसेन्सियोले गोल गरे।
जित संगै रियलले एटलेटीको मड्रिड विरुद्ध अपराजित यात्रा कायमै राखेको छ। लिगमा पछिल्लो पटक सन् २०१६ मा पराजित भएको रियलले त्यसयता हार बेहोरेको छैन
बेन्जेमाले पहिलो हाफमा तथा एसेन्सियोले दोस्रो हाफमा गोल गरेका थिए।
खेलको सुरुवातदेखि नै रियलले बल स्वामित्व बढी राख्दै एट्लेटिकोलाई दवाव बढाउँदै खेलको १६औं मिनेटमा नै गोल गर्न सफल भएको थियो।
कप्तान करिम बेन्जेमाले मार्काे एसेनिसया हुदै भिनिसियस जुनियरको क्रस पासमा भलीमार्फत आकर्षक गोल गरेका थिए ।
३५औं मिनेटमा एन्टोइन ग्रिजमनको प्रहारमा रियलका गोलरक्षक थिवाउट कोर्टुवा बाधक बने।
३८औं मिनेटमा भिनिसियस जुनियरको प्रहारलाई गोलरक्षक जोन ओब्लाकले बचाए।
पहिलो हाफमा दुवै टोलीका गोलरक्षकले शानदार प्रदर्शन गर्दै आ-आफ्ना टोलीलाई खेलमा रहन मद्धत गरे।
दोस्रो हाफमा जोओओ फेलिक्सको पासमा म्याथिअस कुन्हाको प्रहारमा गोलरक्षक कोर्टुवा बाधक बन्दा एट्लेटिको बराबरीबाट चुक्यो।
५७औं मिनेटमा मार्काे एसेन्सियोले गोल गर्दै रियलको अग्रता दोब्बर पारे । लुका जोभिक हुदै भिनिसियस जुनियरको पासलाई एसेन्सियोले वान टचमा गरेको प्रहारले जाली चुम्दा गोलरक्षक ओब्लाकको प्रयास खेर गयो ।
७७औं मिनेटमा थोमस लेमारको फ्रिकिकमा फेलिक्सको प्रहारलाई गोलरक्षक कोर्टुवाले बचाए।
८०औं मिनेटमा हेक्टर हेरेराले अवसर पाएपनि सदुपयोग गर्न सकेन। इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा जोओओ फेलिक्सको प्रहार गोलरक्षक कोर्टुवाको अनुहारमा लाग्दै फर्किदा एट्लेटिकोले सन्त्वाना गोल गर्ने अवसर खेर फ्याल्यो।
यो जितसँगै रियलले शीर्षस्थानमा आफ्नो स्थान थप मजवुत बनाएको छ । रियलको १७ खेलबाट ४२ अंक पुगेको छ।
रियलले दोस्रो स्थानमा रहेको एक खेल कम खेलेको सेभियालाई ८ अंकले पछि पारेको छ। पराजित एट्लेटिको १६ खेलबाट २९ अंक जोडेर चौथो स्थानमा रहेको छ।
-एजेन्सी