हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| काठमाडौंमा जारि अन्तराष्ट्रिय त्रिकोणात्मक टि ट्वान्टी सिरिज अन्तर्गत आज हुँदै गरेको खेलमा मलेसियाले नेपाललाई ११५ रनको सामान्य लक्ष्य दिएको छ।
किर्तिपुर स्थित टियु अन्तरास्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिंग थालेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै ११४ रन बनाएको थियो।
सुरुवात राम्रो गर्न नसकेको पाहुना टोलीले खेलको पहिलो बलमै विकेट गुमाउन पुगेको थियो। ओपनर भिरन्दिप सिंह खाता नखोली पेभेलियन फर्केका थिए।
त्यसपछि ब्याटिंग गर्न आएका कप्तान अहमद फैजले जुबैकी जुल्फिकी संग मिलेर मलेसियाको पारी सम्हालेका थिए।
दोस्रो विकेटका लागि दुई ब्याट्सम्यानले ४९ रनको साझेदारी गरेका थिए। जुबैकी जुल्फिकी १५ बलमा ३२ रन बनाउदा पेभेलियन फर्कीएका थिए।
त्यसैगरी कप्तान अहमद फैज ले ३८ बलमा ३ चौका सहित २४ रन बनाए भने सायद अजिज १४ रन बनाउदा आउट हुन पुगेका थिए। मध्यक्रममा ब्याट्सम्यान सर्भिन मुनियंडीले ९ रन बनाए भने मुहम्मद आमिर १६ रन बनाउदै आउट भएका थिए।
मध्यक्रमका ब्याट्सम्यानहरुको राम्रो साथ् नपाएपछि मलेसियाको पारी धर्मराएको थियो।
नेपालका लागि कारण केसीले ३ ओभरमा १६ रन दिदै २ विकेट लिए भने सोमपाल कामीले ३ ओभरमा २० रन खर्चिदा विकेटबिहिन हुन पुगे।
स्पिनर तथा ब्याटिंग अलराउन्डर दिपेन्द्र सिंह ऐरीले भने शानदार स्पेल गर्दै ४ ओभरमा एक मेडन राख्दै १३ रन दिएर एक विकेट लिएका थिए।
अर्का युवा स्पिनर कुशल मल्लले १ ओभरमा केवल ३ रन खर्चिएर १ विकेट आफ्नो नाममा गरे।
त्यसैगरी कप्तान सन्दिप लामिछानेले ४ ओभरमा २७ रन दिदै २ विकेट लिए भने अभिनाष बोहोराले ४ ओभर बलिंग गर्दै २० रन दिएर एक विकेट लिन सफल भए।
नेपालका लागि दिलिप नाथले अन्तरास्ट्रिय टि ट्वान्टीमा डेब्यु गरेका छन्।