हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| कीर्तिमानी १३ पटकको युरोपियन च्याम्पियन्स लिग विजेता रियल मड्रिड एक खेल अगावै यस सिजनको नक आउट चरणमा प्रवेश गरेको छ।
गएराति सम्पन्न खेलमा शेरिफलाई ३-० ले पराजित गर्दै रियल म्याड्रिड च्याम्पियन्स लिग इतिहासमा ३० औं पटक नक आउट चरणमा प्रवेश गरेको हो।
सन् १९९१ बाट युरोपियन कप बाट नाम परिवर्तन भई च्याम्पियन्स लिग रहेपछि, ३० वर्षको अवधिमा मड्रिडले लगातार ३० पटक नै समुह चरण पार गरेको छ।
च्याम्पियन्स लिगमा सबैभन्दा बढी समूह चरण पार गर्ने कीर्तिमान आफ्नै नाममा राखेको मड्रिडले सोही कीर्तिमान अझ लम्ब्याएको हो।
बोल्साया एरिना टिरासपोल मोल्दोभामा बुधबार राति भएको खेलमा रियलको जितमा डेभिड अलाबा, टोनी क्रुस र करिम बेन्जेमाले गोल गरे।
खेलको सुरुवातदेखि नै घरेलु टोलीलाई दवावमा राखेको रियलले ३०औं मिनेटमा गोलको खाता खोलेको थियो । डेभिड अलाबाले फ्रिकिकमार्फत सिधै गोल गर्दै रियललाई १–० को अग्रता दिलाएका थिए ।
पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा टोनी क्रुसले गोल गर्दै रियलको अग्रता दोब्बर पारे। उनले रोड्रिगोको पासलाई सदुपयोग गरेका थिए। ५५औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै रियललाई ३–० ले अघि बढाए । उनले फर्लान्ड मेन्डीको पासमा गोल गरेका थिए।
यो जितसँगै समूह ‘डी’ मा रियल ५ खेलबाट १२ अंक जोडेर शीर्षस्थानमा रहेको छ। दोस्रो स्थानमा रहेको इन्टर मिलानको १० अंक छ । पराजित सेरिफ ६ अंक जोडेर तेस्रो तथा साख्तर डोनेस्क १ अंक जोडेर पुछारमा छ।
पछिल्लो समय कार्लो एन्सेलोट्टीको आगमनले रियलमा भने नयाँ उत्साह थपिएको छ। घरेलु लिगमा पनि हाल शिर्ष स्थानमा रहेको रियल मड्रिड, यसपटकको च्याम्पियन्स लिगमा पनि राम्रो प्रदर्शन गर्दै १४औ उपाधिका लागि आफ्नो दाबेदारी प्रस्तुत गर्न थालेको छ।