हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| जिनेदिन जिदानले रियाल मड्रिड छोडेर जाँदा देखिएको निराशापन अहिले बिस्तारै मेटिदै गएको छ।
युरोपियन सुपर लिग सँगै आफ्नै स्टार खेलाडीहरूको बहिर्गमनका कारण नकारात्मक उर्जाबाट घेरिएको मड्रिड अहिले तंग्रिदै गरेको अवस्थामा देखिन्छ।
प्रशिक्षक कार्लो एन्सेलोटीले आफ्नो पुरानो जादू मड्रिडमा चलाउन थालेका छन्।
आफ्ना सर्बाधिक सफल रक्षात्मक पार्टनर सर्जियो रामोस र राफेल भरानले एकै क्यालेण्डरमा क्लब छोड्दा अब मड्रिडको के होला भन्ने प्रश्नको उत्तर सिजनको सुखद सुरुवातले दिएको छ।
ला लिगामा गएराति मालोर्का विरुद्ध खनिएको मड्रिडले बिपक्षी लाई सास फेर्ने ठाउँ पनि दिएको थिएन।
आफ्नो घरेलु मैदान सान्टियागो बर्नेबाउ खेलिएको उक्त खेलमा मड्रिडले मालोर्कालाई आधादर्जन गोल हान्न सफल भएको थियो। ६-१ ले आफ्नो छैठौं खेलमा पाँचौं जित दर्ता गरेको रियल मड्रिडले अघिल्लो सिजन केवल दुई अंकले लिग गुमाएको पीडामा मल्हम लगाउने प्रयास जारी राखेको छ।
मालोर्का विरूद्ध मार्को एसेन्सियोले ह्याट्रिक गरे भने करिम बेञ्जेमाले २ तथा इस्कोले एक गोल गर्न सफल भए। दुई गोल गरे सँगै स्टाइकर करिम वेन्जेमाले ला लिगा आफ्नो गोल संख्या ८ पुर्याएका छन्। उनी यस सिजन ला लिगामा सर्बाधिक गोल गर्ने खेलाडी को सूचीमा पहिलो स्थानमा छन् भने उनलाई पछयाउँदै रियल मड्रिडकै ब्राजिलियन खेलाडी भिनिसियस जूनियर छन्। जूनियर ले अहिले सम्म ५ गोल गरिसकेका छन्।
अग्रपंक्तिमा आफ्ना दुइ महत्वपुर्ण खेलाडी आपसमा आउनु पक्कै पनि रिअल मड्रिडका ब्यबस्थापन पक्ष संगै समर्थकहरुलाई पनि खुसिको कुरा पक्कै हुनुपर्दछ।
आफ्नो चिर प्रतिद्वन्दी बार्सिलोना खराब फर्मबाट गुज्रिदा रियल मड्रिडले घरेलु फुटबलमा दबादबा फेरी सुरु गर्न सक्ने देखिन्छ। डर छ त केवल छिमेकि एटलेतिको मड्रिडबाट। सधै डार्क हर्सका रुपमा अगाडी आउने एटलेटीकोले अघिल्लो सिजन रियलको मुखैबाट ला लिगाको उपाधि खोसेको थियो।
गएको च्याम्पियन्स लिगको समूह चरणको खेलमा इन्टर मिलानलाई उसकै घरमा १-० ले पराजित गरे सँगै रियल मड्रिडको नयाँ अध्याय सुरु भएको हो कि भन्ने अडकल काट्न थालिएको छ।
रेन्नेस बाट यसै सिजन भित्रिएका मिडफिल्डर कमभिंगाले लगातार उत्कृष्ट प्रदर्शन गर्दै रियल मड्रिडको मुहार फेर्ने काम गरिरहेका छन्। टिममा अहिलेका युवा खेलाडी इसको, भिनिसियस संगै एसेन्सियो लगायतले मड्रिडलाई आफ्नो पुरानै छबिमा फर्काउन खुब मेहेनत गरेर लागि परेका छन्। प्रशिक्षक कार्लोको योगदानलाई पनि मान्नै पर्छ। युवा खेलाडीलाई कसरी निखार्ने र पुराना खेलाडीबाट माथिल्लो दर्जाको खेल कसरी व्यक्त गर्ने, उनले विद्यावारिधि गरेका छन् यस्ता कुरामा। त्यसैले त उनलाई डन कार्लो पनि भनिन्छ।
६ खेल बाट १६ अङ्क बटुलेको रियल मड्रिड तालिकाको शीर्ष स्थानमा रहदै आफ्नो ऐतिहासिक ३५ औँ लिग उपाधि जित्ने सपना साकार पार्न आक्रमक रुपमा प्रस्तुत भएको छ।