हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| प्रिमियर लिग अन्तर्गत वेस्ट ह्याम विरुद्धको खेलमा म्यानचेष्टर युनाइटेडले रोमाञ्चक जीत हात पारेको छ।
खेलमा १-० ले पछि परेको स्थितिलाई पल्टाएर युनाईटेडले अवे खेलको अपराजित रेकर्डलाई अझ निरन्तरता दिएको हो।
ह्याम्मर्सको घरेलु मैदानमा खेलको अन्तिम मिनेटमा पाएको पेनाल्टीलाई युनाइटेडका किपर डिगियाले बचाउँदै टोलीलाई जित दिलाए।
निकै प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा दुबै टोलीले गोल गर्ने राम्रा मौका हरु खेर फ्यालेका थिए।
अधिकांश समय युनाईटेडको पक्षमा बल भएता पनि वेस्ट ह्यामले घरेलु दर्शक माझ उत्कृष्ट खेल प्रदर्शन गरेको थियो।
खेलमा दुबै हाफ राम्रो खेलेको वेस्ट ह्यामको टोलीले खेलको ३० औँ मिनेटमा अग्रता लिएको थियो।
वेस्ट ह्यामका विंगर बेनरामाले डी बक्सबाट प्रहार गरेको शट म्यानचेष्टर युनाईटेडका रक्षक राफेल भारानलाई लाग्दै गोल पोस्ट तर्फ विचलित हुँदै जाली चुमेको थियो।
तर वेस्ट ह्यामको अग्रता धेरैबेर टिक्न सकेन। खेलको ३५ औं मिनेटमा क्रिष्टियानो रोनाल्डोले म्यानचेष्टर युनाइटेडका लागि बराबरी गोल गरेका थिए। ब्रुनो फर्नान्डेसले दिएको पासलाई उत्कृष्ट ढंगले सदुपयोग गर्दै रोनाल्डोले जाली चुमाएका थिए।
खेलको पहिलो हाफको १-१ गोलको बराबरीमा टुंगिएको थियो। दोस्रो हाफमा तुलनात्मक रूपमा रक्षात्मक देखिएको घरेलु टोलीले काउन्टर अट्याकमा केही राम्रा मौकाहरुको सिर्जना गरेको थियो।
युनाईटेडले दोस्रो हाफमा गति बढाउदै केहि राम्रा मौकाहरु सिर्जना गरेता पनि अग्रता बढाउन भने सकेन। क्रिस्टियानो रोनाल्डोले दोस्रो हाफको सुरुवातमै अग्रता दोब्बर पार्ने राम्रो मौका पाएता पनि सहि सदुपयोग गर्न सकेनन।
तर खेलको अन्त्य तिर प्रवेश गरेका जेसी लिंगार्डले ९०औं मिनेटमा कर्नर चेपेर फार पोस्टमा गरेको उत्कृस्ट गोलको माध्यमले युनाईटेडले खेलमा अग्रता लिएको थियो।
खेलको अतिरिक्त समयको अन्त्यमा डी एरिया भित्र लुक श ले ह्यान्डबल गरे पछि पाएको पेनाल्टीलाई वेस्ट ह्यामका खेलाडी मार्क नोबेलले गोलमा परिणत गर्न नसक्दा वेस्ट ह्याम घरेलु मैदानमा स्तब्द बनेको थियो। युनाईटेडका किपर डेविड डेगियाले पेनाल्टीको बचाव गर्दै युनाईटेडलाई जित दिलाए।
जित संगै युनाईटेडले यस सिजनको आफ्नो अपराजित यात्रा कायम राखेको छ।