हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपाली फुटबलमा एक समय निकै चर्चामा रहेका विमल घर्ती मगरले लामो समयको चोट पश्चात पुनरागमन गरेका छन्।
एन्फाका घरेलु उत्पादन रहेका उनी सम्भवतः एन्फाले उत्पादन गरेको सबैभन्दा उत्कृष्ट युवा खेलाडी मध्ये एक हुन्।
उनि घुडाँमा चोटको कारण बिगत एक वर्ष भन्दा बढी समय मैदान बाहिर रहेका थिए।
१४ वर्षको उमेरमा राष्ट्रिय फुटबल टोलीबाट डेब्यू गर्दै सनसनी मच्चाएका उनि, सन् २०१३ को साफ च्याम्पियनसिपमा गोल गर्दै नेपालीको साझा नाम बनेका थिए। केहि समय यता भने उनि गुपचुप छन्।
नेपाली राष्ट्रिय फुटबल टोलीबाट ३५ क्याप जितिसकेका २३ वर्षीय विमलले ८ गोल गरिसकेका छन्।
क्षमतावान खेलाडीका रूपमा उदाएका विमल घर्ती मगरले दर्शकको अपेक्षा अनुसार खेल भने पस्किन सकेका छैनन्।
एकसमय बेल्जियमको एण्डरलेकमा गएर ट्रायल दिएर आएका विमलले घरेलु फुटबलमा भने राम्रो प्रदर्शन गर्न नसकिरहेको अवस्था छ।
कोरोनाले थलिएको नेपाली फुटबलमा उनको विलय भएको करिब दुई वर्ष बितिसकेको छ। गत वर्ष घुँडाको चोटको कारण करिब ९ महिना खेल मैदान बाहिर बसेका विमल घर्ती निकै लामो समयपश्चात निकै मेहनत गरेर घरेलु फुटबलमा फर्किएका छन्।
कहिले एन्फाले अनुशासनको नियममा त कहिले आफ्नै व्यक्तिगत जीबनशैली को कारण एक समय निकै उचाइमा पुगेको उनको करिअरको ग्राफ एक्कासी तल पुगेको थियो। सँगै बहिनीको निधनले पनि उनको खेल जीवनमा नराम्रो असर पुगेको थियो।
तीन वर्षअघि च्यासल युथ क्लबबाट ए डिभिजन लिगमा डेब्यू गरेका उनले २०७६ को फागुनमा मच्छिन्द्र क्लबबाट लिगको अन्तिम खेल खेलेका थिए ।
अब लामो समय पश्चात घरेलु फुटबलमा उनको पुनरागमन हुने भएको छ। करिब दुई बर्ष देखि हुन नसकेको ए डिभिजन लिगमा उनले मछिन्द्र क्लब बाटै पुनरागमन गर्ने भएका हुन।
यसपटक कात्तिक २९ गतेबाट सुरु हुने ए डिभिजन लिग एकपटक पुनः उनले मछिन्द्रबाटै खेल्ने पक्का भएको छ।
‘उत्साह जति छ आउने दिन मेरो लागि चुनौतीपूर्ण पनि छ’, विमलले हर्षित हुदै भने, ‘म त्यसमा सचेत छु । फेरि एकपटक मैदानमा उच्च प्रदर्शनका लागि प्रतिबद्ध छु ।’ उनले थपे।