हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गत शनिबार बिहान उरुग्वे र अर्जेन्टिना आपसमा भिड्दै छन्।
आगामी बर्ष कतारमा हुने विश्वकपको छनौट अन्तर्गत तालिकामा दोस्रो स्थानमा रहेको अर्जेन्टिनाले छैठौं स्थानमा रहेको उरुग्वेको सामना गर्नेछ।
उरुग्वेको घरेलु मैदानमा हुने खेलमा जीत निकालेको खण्डमा अर्जेन्टिनाको आगामी विश्वकपमा छनोट हुने सम्भावना थप मजबुत हुनेछ।
ब्राजिल सँगै छनौट चरणमा अपराजित रहेको अर्जेन्टिनी टोलीले आफ्नो उच्चस्तरीय लयलाई कायम राख्दै पछिल्ला पाँच खेलमा ४ मा जित र एक बराबरी निकालेको छ।
ब्राजिल (३४अङ्क) भने छनौट चरणमा अहिले सम्म अपराजित रहँदै आगामी विश्वकपमा छनोट भइसकेको छ भने भोलि उरुग्वे विरुद्धको जितले अर्जेन्टिना (२५ अङ्क) लाई बिश्वकपको टिकट कटाउन थप मद्दत गर्नेछ।
दुई पटकको विश्व विजेता उरुग्वे भने पछिल्ला पाँच खेलमा केवल दुईमा विजयी भएको छ भने यसअघिका दुई खेलमा पराजय भोगेको छ।
विश्वकप छनोटमा सहभागि १० टोली मध्ये शीर्ष चार टोलीले अर्को वर्ष कतारमा हुने विश्वकपमा आफ्नो टिकट कटाउने छन् भने पाँचौं स्थानमा रहेको टोलीले अर्को क्वालिफायर खेल्नेछ। तालिकाको छैटौं स्थानमा बसेको उरुग्वेका लागि अर्जेन्टिना बिरुद्ध शत प्रतिशत जित निकाल्नै पर्ने दबाब रहेको छ।
१२ खेलमा १६ अङ्क बटुलेको उरूग्वेको चौथौ र पाँचौं स्थानमा रहेको कोलम्बियासँग बराबरी अङ्क भएपनि भोलि अर्जेन्टिना बिरुद्ध हुने खेले विश्वकपको भाग्य निर्धारण गर्नेछ।
पेरिस सेन्ट जर्मनका स्टार खेलाडी लियोनल मेस्सी भने केही साता यता चोटिल अवस्थामा रहेका छन्। लियो मेस्सीको भोलि हुने खेलमा सम्भवतः सीमित योगदान हुने देखिन्छ। अर्जेन्टिनाका प्रशिक्षक स्कलोनीले भने मेस्सी राम्रो लयमा रहेको र टोलीमा प्रशिक्षणका दौरान पनि सकरात्मक संकेत देखाएको बताएका थिए।
खेल इसटाडियो केम्पियोन डेल सिग्लोमा नेपाली समय अनुसार शनिबार बिहान ४:४५ मा सुरु हुनेछ।