हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपाल र फिलिपिन्स आईसीसी पुरुष टि ट्वान्टी विश्वकप छनोट ए अन्तर्गतको दोस्रो खेलमा भोलि आमनेसामने हुँदैछन।
अल अमेरात क्रिकेट मैदानमा नेपाली टोलीले फिलिपिन्स टोलि संग सिनियर स्तरमा पहिलोपटक क्रिकेटमा प्रतिस्पर्धा गर्दैछ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपालले शुक्रबार ओमानलाई ३९ रनले पराजित गर्दै आफ्नो अभियानको शानदार सुरुवात गरेको छ ।
पहिलो खेलमा नेपालले आरिफ शेखको ३७ बलमा ३८ रनको मद्दतमा आठ विकेट गुमाउदा ११७ रन बनाएको थियो भने ओमानका लागि खवर अलीले तीन विकेट लिए।
नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गरेपछि ओमान १७ ओभरमा ७८ रनमा अलआउट भएको थियो।
नसिम खुशीले १८ बलमा एक चौका र दुई छक्का प्रहार गर्दै २४ रन बनाए पनि अन्यको साथ पाएनन् । नेपालका लागि कमल सिंह ऐरीले ३ विकेट लिए।
अर्कोतिर जोनाथन हिलको नेतृत्वमा रहेको फिलिपिन्सले आफ्नो अभियानको निराशाजनक सुरुवात गर्दै शुक्रबार क्यानडासँग ११८ रनले पराजित भएको थियो।
क्यानडाले एक ओपनर म्याथ्यु स्पोर्सले ६६ बलमा १०८ रन को मद्दतले २१६ रनको विशाल स्कोर बनायो।
रेयान पठानले पनि ४४ बलमा ७३ रन बनाए। त्यसपछि फिलिपिन्सले पाँच विकेटको नोक्सानीमा ९८ रन मात्र बनाउन सक्यो।
उनीहरुका लागि ड्यानियल स्मिथले ३६ बलमा सर्वाधिक ३५ रन बनाए। कलिम साना र साद बिन जाफरले समान २–२ विकेट लिएर फिलिपिन्सको ब्याटिङ ब्याकफुटमा पुर्याएका थिए।
अन्तर्राष्ट्रिय स्तरमा अनुभव नहुँदा फिलिपिन्सले शुक्रबार क्यानडाविरुद्धको खेल गुमाएको थियो । उनीहरूले बल र ब्याट दुवै क्षेत्रमा सामान्य प्रदर्शन गरे।
खेलमा चाँडैनै हार खाएको फिलिपिनी टोलीले ठुलो रनको हार बेहोर्न पुगेको थियो। नेपाल विरुद्ध जित निकाल्नु फिलिपिनी टोलीलाई फलामको चिउरा चपाउनु सरह हुनेछ।
यदि उनीहरूले यो खेलमा नेपाललाई हराउन चाहन्छन् भने उनीहरू आफ्नो क्षमताको शीर्षमा हुनुपर्छ।
नेपालले भने फिलिपिन्स विरुद्ध फराकिलो जित हात पार्न सके लगभग अर्को राउण्डमा पुग्नेछ। शत प्रतिशत जित निकाल्ने क्रममा राम्रो रनरेट तथा अंक बटुल्दै नेपालले शिर्ष स्थान हात पार्न सक्नेछ।