हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपाली घरेलु फुटबलको प्रतिष्ठित फुटबल प्रतियोगिता सहिद स्मारक ए डिभिजन लिग आउदो कार्तिक २९ गते गतेबाट सुरु हुँदैछ।
घरेलु फुटबल लिग प्रतियोगिता यसपटक ४४औं संस्करणमा प्रवेश गर्नेछ।
गत बर्षको कोभीडका कारण सम्पन्न हुन नसकेको प्रतियोगिता यसवर्ष भाद्रमै हुने भनीएता पनि फेरि कार्तिकसम्म पछि सरेको थियो।
कोभिड महामारी नसकिएको कारण देखाउँदै ए-डिभिजन लिगका केही क्लबहरुले भाद्रमा हुने प्रतियोगितालाई कार्तिकमा सार्नु पर्ने माग राखेपछि प्रतियोगिता सरेको थियो।
यसपटकको संस्करणमा तीन विभागीय टोली समेत गरि प्रतियोगितामा कुल १४ टोलीले सहभागिता जनाउनेछन्।
करिब ५ सिजन लिगमा बसेको सरस्वती युथ क्लब यसपटकको ए डिभिजन लिगमा हुने छैन। अघिल्लोपटकको ए डिभिजन लिगमा रेलिगेट भएपछि सातदोबाटो युवा क्लबले सरस्वती युथ क्लबलाई यसपटकको ए डिभिजन लिगमा प्रतिस्थापन गर्नेछ।
यस पटकको डिफेन्डिङ च्यम्पियन मच्छिन्द्र क्लबले यसपटक उपाधि रक्षाका लागि मैदानमा उत्रने छ। मच्छिन्द्रले पछिल्लो सिजन पहिलो पटक राष्ट्रिय ए डिभिजन लिगको उपाधि जितेको थियो।
च्याम्पियनको पुरस्कार राशि पनि गत वर्षको ५० लाखबाट बढाएर ७५ लाख पुर्याएको छ ।
दोस्रो र तेस्रो हुने क्लबले क्रमशः ५० लाख र २५ लाख नगद पुरस्कार पाउनेछन् । प्रत्येक क्लबलाई तयारीका लागि २० लाख रुपैयाँ उपलब्ध गराइनेछ ।
पुछारमा रहेका दुई टोली लिग सकिएपछि ‘बी’ डिभिजनमा रेलिगेसन हुनेछन् ।
लिग सिंगल राउण्डको आधारमा सञ्चालन हुनेछ । एन्फा संग अघिल्लो बैठकमा, क्लबहरूले सुपर आठ र तल्लो छ राउन्डले च्याम्पियन र रेलिगेसनको निर्णय गर्ने सहमति जनाएका थिए तर कोभिड-१९ को अवस्थाका कारण उक्त निर्णय रद्द गरिएको थियो।
यसपटकको ए डिभिजन लिग फुटबलमा सहभागी हुने टोलीहरू:
१.नेपाल एपीएफ क्लब – विभागीय
२.ब्रिगेड बोइज क्लब
३.च्यासल युथ क्लब
४.फ्रेन्ड्स क्लब
५.हिमालयन शेर्पा क्लब
६.जावलाखेल युथ क्लब
७.मच्छिन्द्र एफसी
८.मनाङ मर्स्याङ्दी क्लब
९.नेपाल पुलिस क्लब – विभागीय
१०.न्यु रोड टिम
११.संकटा बोइज स्पोर्ट्स क्लब
१२.सातदोबाटो युवा क्लब
१३.त्रिभुवन आर्मी एफ.सी. – विभागीय
१४.थ्री स्टार क्लब