हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| साफ च्याम्पियनसिप २०२१ फाइनल खेलमा नेपाललाई पराजित गर्दै भारतले पुनः एकपटक च्याम्पियनसिपको उपाधि जितेको छ।
आज भएको फाइनल खेलमा नेपाललाई ३-० गोल अन्तरले पराजित गर्दै भारतले कीर्तिमानी आठौं पटक साफ च्याम्पियनसिप जितेको हो।
साफ प्रतियोगिताकै इतिहासमा पहिलो पटक फाइनल खेलेको नेपालले दोस्रो हाफमा गम्भीर रक्षात्मक गल्तिहरु गर्दा खेल गुमाउन पुगेको थियो।
पहिलो हाफमा दुवै टोलिबाट खास्सै धेरै आक्रमण भएन, एक हिसाबले खेल तुलनात्मक रुपमा सुस्त देखिन्थ्यो।
तर दोस्रो हाफमा भारतले आफ्नो खेलको गति बढाउदै नेपाललाई गल्ति गर्न बाध्य बनाउदा दुइ मिनेटको अन्तरलमा दुई गोल थप्न सक्षम भएको थियो।
खेलको ४८ औं मिनेटमा कप्तान सुनिल क्षेत्रीले भारतलाई सुरुवाती अग्रता दिलाएका थिए। डी एरिया बाहिरबाट आएको क्रसलाई हेडर गर्दै उनले राम्रो गोल गरेका थिए । लगत्तै काउन्टर अट्याक मुभमा बनाएको मौकाको सदुपयोग गर्दै सुरेश सिंह वाङजामले गोल गर्दै भारतको अग्रता दोब्बर पारे ।
दुई गोलले पछि परेपछि केहि आक्रामक रणनीति अपनाएको नेपालले खेलमा जित हासिल गर्न भने सकेन। अन्त्यमा गोल थप्दै भारतले आठौं उपाधि पक्का गर्यो।