हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| साफ च्याम्पियनसिप प्रतियोगिता अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले भारत विरुद्ध पराजय भोगेको छ।
माल्दिभ्सको अन्तरास्ट्रिय रंगशालामा भएको खेलमा भारतीय कप्तान सुनिल क्षेत्रीको एक गोलको मद्धतले भारतले नेपाललाई १-० गोल अन्तरले पराजित गर्यो।
जित नभएपनि एक अंकले फाइनलको स्थान सुरक्षित बनाउने स्थितिमा भारत संगको हारले नेपाललाई अर्को खेलमा अंक बटुल्नै पर्ने दबाब आएको छ।
पछिल्ला दुई खेलभन्दा निकै रक्षात्मक देखिएको नेपाली टोलीले सन्तोषजनक खेल प्रस्तुत गरेपनि हार टार्न भने सकेनन् ।
खेलको सुरुवाती समयमा दुवै टोलीले आक्रमणमा कुनै उल्लेख्य मुभ बनाउन सकेनन्।
नेपालले काउन्टरमा अघि बढ्ने अवसर पाएपनि सटिक पास दिन नसक्दा अवसर सिर्जना हुन सकेन। नेपालको रक्षात्मक लाईन तोड्न भारतलाई निकै हम्मे हम्मे परेको थियो।
खेलको २५ औं मिनेटमा गोलरक्षक किरणले भारतको आक्रमण बचाउँदै नेपालको खतरा टारे । ३४ औं मिनेटमा सुनिल क्षेत्रीले खालि पोस्टमा गोल गर्न नसक्दा नेपाल पछि पर्नबाट जोगिएको थियो ।
खेलको ३५ औं मिनेटमा ब्रान्डन फर्नान्डेसको लामो प्रहार पोस्टभन्दा निकै परबाट बाहिरियो । ४३ औं मिनेटमा भारतले अर्को अवसरको सदुपयोग गर्न सकेन । सुनिलको पासमा पेनाल्टी क्षेत्रभित्र मनवीर सिंहले सट प्रहार गर्न सकेनन्।
पहिलो हाफमा नेपालले मौका बनाउन नसकेपनि कप्तान चेम्जोंगका केहि आकर्षक बचावले नेपाललाई खेलमा राखेका थिए।
दोस्रो हाफमा नेपाललको डिप लाईन डिफेन्स रणनितीले भारतलाई फाइदा पुगेको थियो । भारतलाई बल स्वामित्व दिएर पोस्टमा लगातार डी एरिया बाहिर दबाब ल्याएपछि नेपाली रक्षाक्रम खुल्न पुगेको थियो। सोहिक्रममा ८२ औं मिनेटमा भारतले अग्रता लियो । फारुख चौधरीको फ्लिक हेडरमा सुनिलले ६ यार्ड बक्स नजिकबाट गरेको प्रहार सिधै गोलमा परिणत भएको थियो।
तर खेलमा एक गोलले पछि परेपछि नेपालले आक्रामक खेल पस्किदा दुइ राम्रा बराबरी गर्ने मौका गुमाएको थिओ। ८६ औं मिनेटमा अन्जनको प्रहारले पोस्टको दिशा लिन सकेन । लगत्तै भारतका गोलरक्षक गुरप्रितले बचाउ गर्दै भारतको खतरा टारे । ९० औं मिनेटमा सुमन अर्यालको पासमा आयुष घलान बलसम्म पुग्न सकेनन्।
खेलमा हार बेहोरेपनि ६ अंक सहित नेपाल तालिकाको शिर्ष स्थानमा छ भने फाइनल प्रवेशका लागि नेपालले बुधबार बंगलादेश संग प्रतिस्पर्धा गर्ने छ।