हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| साफ च्याम्पियनसिप अन्तर्गत आज नेपाल र भारत आपसमा एक अर्काको सामना गर्दैछन्।
तालिकाको शिर्ष स्थानमा रहेको नेपाल विरुद्धको खेल भारतलाई भने निकै दबाबले भरिएको छ।
नेपाल विरुद्ध जित भन्दा अरु केहि नतिजा निकालेको खण्डमा भारतीय टोलि प्रतियोगिताको फाइनल बाट लगभग बाहिरिने स्थिति रहेको छ।
नेपाललाई भने भारत विरुद्ध जित्नै पर्ने दबाब नभए पनि सकारात्मक नतिजाले नेपाललाई पहिलो साफ फाइनलको ठाउँ दिलाउने छ।
त्यसै कारण नेपाली टोलीले आफ्नो फर्मलाई निरन्तरता दिदै, परम्परागत प्रतिद्वन्दी भारत विरुद्ध झन्डै एक दशकपछि जितको खोजीमा रहने छ।
नेपालले पछिल्लो पटक सन् २०१३को साफ च्याम्पियनसिपमा भारत विरुद्ध जित निकालेको थियो।
गत महिना नेपाल विरुद्ध काठमाडौंमा भएको मैत्रीपूर्ण खेलमा एकमा जित र एकमा बराबरी निकालेको भारतीय टोलीको साफमा भने प्रदर्शन निकै खस्किएको देखिन्छ।
७ पटकको बिजेता भारतको प्रदर्शनलाई लिएर अनेकौ टिका टिप्पणीहरु गर्न थालिएको छ।
नेपालले प्रतियोगितामा लगातार दुई खेलमा दुई जित निकाल्दा भारत को भने दुवै खेलमा बराबरीमा टुंगिएको छ।
फिफा बरियतामा १०७औ स्थानमा रहेको भारतले पहिलो खेलमा १८९औ स्थानमा रहेको बंगलादेश विरुद्ध १-१को बराबरी खेलेको थियो भने २०५औ स्थानमा रहेको श्रीलंकन टोलि संग गोल रहित बराबरी खेलेको थियो।
नेपालले भने श्रीलंका विरुद्ध ३-२ को रोमान्चक नतिजा निकाल्दा माल्दिव्सलाई उसकै घरेलु मैदानमा १-०ले स्तब्द पारेको थियो।
प्रतियोगितामा अघि बढ्न नेपाललाई भारत विरुद्धको खेलमा १ अंक भए काफी हुने स्थितिमा भारतलाई भने प्रतियोगितामा रहिरहन अनिवार्य जितको आवश्यकता रहेको छ। समूह चरणमा २ खेल खेल्न बाकि रहदा ६ अंक बटुलेर शिर्ष स्थानमा बसेको नेपालको टोलि भन्दा ४ अंक कम सहित भारत ५ टोलि समावेस भएको प्रतियोगितामा चौथो स्थानमा बसेको छ।
तर खेल अघि नेपालका प्रशिक्षक अब्दुल्ला अल्मुतैरीले नेपाली दर्शकलाई टोलि फाइनलमा पुग्नु भन्दा अघि उतेजित नहुन आग्रह गरेका छन्। दुई खेलमा जित हात पारेता पनि अझै पनि फाइनलको स्थान पक्का भइ नसकेको हुदाँ केहि धैर्यता राख्न आग्रह गरेका छन्।
‘भोलीको खेल महत्त्वपूर्ण छ । भारत दक्षिण एसियाको उत्कृष्ट टोली हो, सात पटकको विजेता हो । यू-२३ टोलीले नै उपाधि जितेको इतिहास छ’, उनले भने,‘ भोलीको खेल भारतले जित्ने सम्भावना ९५ प्रतिशत छ , बराबरी हुने सम्भावना ४ प्रतिशत छ र नेपालले जित्ने सम्भावना १ प्रतिशत छ ।’
भारत बलियो टोली भएपनि नेपाली टोलीले डराएर भने नखेल्ने उनले बताएका छन् । ‘विश्व वरीयतामा हामी भन्दा भारत निकै माथि छ । तर हामी उनीहरुसँग डराउँदैनौं । सम्मान गर्छौं’, उनले भने,‘ हामी जित्नका लागि प्रयास गर्नेछौं ।’