हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| माल्दिभ्समा जारी गरी साफ च्याम्पियनसिप प्रतियोगितामा नेपालले भोली बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ।
ऐतिहासिक घडीमा रहेको नेपाली टोलीको बंगलादेशसँग खेल निकै महत्वपुर्ण रहेको छ।
भोलि हुने खेल नेपालले आफ्नो पक्षमा राख्न सके साफको १२ संस्करणको इतिहासमा पहिलोपटक फाइनलमा पुग्नेछ।
सोहि कारण समूह चरणको अन्तिम खेलमा नेपाललाई बंगलादेशविरुद्ध अङ्क बटुल्नै पर्ने दबाब रहेको छ।
तीन खेल खेलेको नेपाल २ मा जित र एकमा पराजय व्यहोर्दै तालिकाको दोस्रो स्थानमा रहेको छ भने बङ्गलादेश ४ अंकसहित चौथो स्थानमा बसेको छ।
नेपाललाई फाईनलमा आफ्नो स्थान सुरक्षित गर्नको लागि भोलि कम्तिमा पनि १ अंकको आवश्यकता रहेको छ।
आइतबार भारतसँग १-० को हार व्यहोरेपछि नेपाली टोलीलाई आफ्नो अन्तिम खेलमा बंगलादेशविरुद्ध अङ्क जोड्नै पर्ने स्थिति आएको हो।
तालिकाको पुछारमा रहेको श्रीलंका साफ च्याम्पियनसिपबाट बाहिरिसके पनि बाँकी सम्पूर्ण टोलीहरू को फाइनलमा प्रवेश गर्ने सम्भावना बराबर रहेको हुँदा नेपाललाई भोलि बङ्गलादेश विरुद्ध सकरात्मक नतिजा चाहिएको छ।
राउन्ड रोविनको अन्तिम दिन बुधबार हुने दुई खेलले फाइनल पुग्ने दुई टोलीको तय हुनेछ। पहिलो खेलमा नेपाल र बंगलादेश खेल्दैछन् भने दोस्रोमा भारत र माल्दिभ्स आपसमा प्रतिस्पर्धा गर्नेछन्।
पहिलो खेलमा नेपाल विजयी भएमा वा बराबरमा रोकिएमा पनि अघिल्लो चरण पुग्नेछ । विजयी भएको अवस्थामा नेपालको ९ अंक हुनेछ र टोली स्वतः पहिलो पटक फाइनल पुग्नेछ । यदि बराबरी भएको खण्डमा पनि नेपाल ७ अंकसहित अन्तिम दुईमा पुग्नेछ ।
अर्को खेलको नतिजाले नेपाललाई असर गर्ने छैन।