हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| साफ च्याम्पियनशिपमा पराजय भोगे संगै नेपालको पहिलोपटक उपाधि जित्ने सपना एकपटक फेरी सपनामै सीमित बनेको छ।
प्रतियोगितामा राम्रो सुरुवात गरेको नेपालले सुरुवाती दुई खेलमा नतिजा आफ्नो पक्षमा पर्दा यसपाली केहि नयाँ देख्न पाइने हो कि भन्ने कौतुहलता नेपाली समर्थकले मनमा लिएका थिए।
सोचे अनुसारनै नेपाल प्रतियोगिताको फाईनालमा प्रवेश गर्यो पनि. समूह चरणमा अन्तिम खेलमा चाहिएको एक अंक बटुल्दै फाइनलमा पुगेको नेपाली टोलीलाई भारत विरुद्धको खेलमा भने अनुभवले मात दियो।
पहिलो हाफ बराबरीमा रोकिए पनि दोस्रो हाफमा भारतले आफ्नो अनुभवको फाइदा उठाउँदै नेपालविरुद्ध दोस्रो हाफको सुरुवातमै २ गोल गर्न सफल भयो।
पहिलोपटक फाइनल खेलेको नेपाली टोलीलाई दुई गोलले पछाडि परेको अवस्थामा खेल्न फर्कन असम्भव जस्तै थियो। तर पनि खेलमा फर्कन नेपालले एक पछि अर्काे आक्रमणको प्रयास गरेपनि भारतीय रक्षा लाइन तोड्न भने सकेन।
खेलमा पछि परेर अत्तालिएको नेपालको डिफेन्सले एकपछि अर्को गल्ती गर्दा भारत नेपालमाथि हावी हुन पुगेको थियो।
सोही खेलबारे बोल्दै नेपालका प्रशिक्षक अब्दुला अल्मुताइरीले नेपालसँगको अबको आगामी दिनको भविष्यको बारेमा बोलेका छन्:
‘अहिले नै केही भन्न सक्ने अवस्था छैन । अब मलाई विश्रामको खाँचो छ । म पछिल्लो ६ महिना लगातार काम गर्दै आएको छु । मलाई १-२ साता विश्राम लिएर मात्र नेपालसँग मेरो भविष्यबारे सोच्नेछु,’ उनले भने ।
‘मैले नेपालबाट धेरै माया पाएको छु । म मेरो टिमका खेलाडी, सबै अफिसियल सहकर्मी, समर्थक, मेरो परिवार सबैलाई धेरै माया गर्छु । मेरो अन्तिम साससम्म पनि म नेपाललाई माया गरिरहनेछु । मलाई नेपाली समर्थकले सधैं माया गर्नुभएको छ ।’
‘मेरो पनि मुटु छ र मेरो मुटुमा नेपाल छ । त्यो नाम कसैले हटाउन सक्दैन। नेपाल, कुवेत र कतार मेरो मुटुमा छ । म नेपालमा रहेपनि नरेपानी सधैं रहन्छ। मलाई कसैले नदिएको माया नेपालले दिएको छ,’
‘आज हामी हार्यौं, किनभने हामीसँग फाइनल खेल्ने अनुभव नै थिएन। जब फाइनलमा एक मिनेटको अन्तरमा दुई गोल खाएको अवस्था हुन्छ, त्यो निकै कठिन हुन्छ।’ उनले थपे
नेपाल सधै आफ्नो मुटुमा रहने बताएका उनले आगामी दिनको सहकार्यलाई भने अनिश्चयनै राखेका छन्।