हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| विश्वक्रिकेट लिग २ अन्तर्गत नेपाल आफ्नो पाँचौं त्रिकोणात्मक एकदिवसिय सिरिज खेल्न स्कटल्यान्ड पुगिसकेको छ।
समूहमा सबैभन्दा कठिन प्रतिद्वन्दी मध्ये रहेको स्कटल्यान्ड संगै नेपालले हालसालै विश्वकप खेलेको नामिबिया विरुद्ध पनि प्रतिस्पर्धा गर्नेछ।
स्कटल्यान्ड भन्दा अघि क्यानडा पुगेको नेपाली टोलीले क्यानेडियन राष्ट्रिय टोलीविरुद्ध राम्रो नतिजा निकाल्न सकेन।
आन्तरिक व्यवस्थापनका कारण समयमै क्यानडा पुग्न नसक्दा, राष्ट्रिय टोलीको अभ्यास सत्र खुम्न्चिन पुगेको थियो।
टीट्वेन्टी शृंखला रद्ध भएसँगै नेपालको पहिलो एकदिवसीय खेल पनि वर्षका कारण स्थगित हुन पुग्दा सोचे अनुसारको प्रदर्शन हुन पाएन।
तर नेपाललाई अबका चार खेलमा अहिलेसम्मकै सबैभन्दा चुनौतीपूर्ण समय आइपुगेको छ।
विश्वकपमा छनौट सँगै नेपाललाई एकदिवसीय क्रिकेटमा आफ्नो शाख जोगाइ रहन स्कटल्यान्ड भ्रमणले प्रमुख भूमिका खेल्ने देखिन्छ।
तालिकामा हाल पाँचौं स्थानमा रहेको नेपालले स्कटल्याण्डमा कम्तीमा पनि ४ अङ्क बटुल्न नसके शीर्ष पाँचमा रहने सम्भावनालाई झन दुर्बल बनाउनेछ।
शीर्ष पाँचमा रहन सके नेपाली एकदिवसीय मान्यता सँगै भारतमा सन् २०२३ मा हुने विश्वकप छनोट पनि गुमाउनेछ।
एसोसिएट स्तरमा नेपाल र स्कटल्यान्ड दुवै शक्तिशाली राष्ट्र भएपनि एकआपसमा धेरै खेलहरु भने खेलेका छैनन्।
अन्तर्राष्ट्रियस्तरमा केवल छनोट प्रतियोगिताहरुमा खेल्ने गरेकोको नेपाली टोलीको स्कटल्याण्ड विरुद्धको नतिजा राम्रो छैन।
घरेलु टोली स्कटल्यान्ड विरुद्ध पछिल्लो पाँच खेलमा नेपालले सबै खेलमा पराजय बेहोरेको छ।
पाँच खेल मध्ये चार एकदिवसीय खेलमा रहेको छ भने एक खेल टीट्वेन्टी रहेको छ।
यी मध्ये ४ खेल विश्वकप छनौटका रहेका छन् भने एउटा विश्व क्रिकेट लिग अन्तर्गत रहेको छ।
स्कटल्याण्डविरुद्ध नेपालका तर्फबाट नेपालका पूर्व कप्तान पारस खड्काले दुई पटक अर्धशतक बनाएका छन् भने अनिल मण्डलले केवल एकपटक शतक प्रहार गर्दा अन्य ब्याट्सम्यानहरुको प्रदर्शन राम्रो छैन।
नेपालले हालैमा अमेरिकामा त्रिकोणात्मक सीरीज खेल्नु अघि स्कटल्याण्डले पनि उक्त भ्रमणमा सहभागिता जनाएको थियो।
संयुक्त राज्य अमेरिका र यूएईविरुद्ध ४ खेल खेल्दा स्कटल्याण्डले दुईमा पराजय र २ मा जित हासिल गरेको थियो।
पछिल्लो समय स्कटल्याण्डले टेस्ट राष्ट्र इंग्ल्यान्ड, आयरल्याण्ड, जिम्बाबे संग सिरिज संगै टि ट्वान्टी विश्वकप प्रतियोगितामा पनि सहभगिता जनाउने गरेको छ।
स्कटल्याण्डको बलियो टोलि संगको लगातारको खेलहरुले घरेलु भूमिका उसलाई थप बलियो बन्न अवश्य मद्दत गर्नेछ।
नेपालका तर्फबाट यसपटक टोलीमा रहेका कप्तान सन्दिप लामिछाने, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी र करण केसीले स्कटल्याण्ड विरुद्ध केही खेलहरु खेलिसकेका छन्।
नेपालबाहिर सिरिजमा सदैव देखिने ब्याटिङको कमजोरी यसपटक पनि नदोहोरिनेमा शंका छैन।
भनेजस्तो तयारी गर्न नपाएको नेपाली टोलीमा अधिकांश खेलाडी स्कटल्याण्डको जस्तो वातावरणमा भिज्ने मौका पाएका छैनन्।
यस्तो अवस्थामा बलियो टोलि स्कटल्याण्डविरुद्ध प्रमुख हतियारहरुले उत्कृष्ट प्रदर्शन गरेमा मात्र नेपालको जित सम्भव देखिन्छ।