हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| सन २०१० को विश्वविजेता स्पेन र २०१८ को उपविजेता क्रोएसियाले आगामी विश्वकपमा आफ्नो स्थान पक्का गरेका छन्।
आइतबार भएको छनौट खेलमा जित आत्मसाथ गर्दै दुवै टोलिले विश्वकपको टिकट कटाएका हुन।
घरेलु मैदानमा आइतबार राति भएको खेलमा क्रोएसियाले रसियालाई १–० ले पराजित गर्दै विश्वकपमा स्थान सुरक्षित गरेको हो। फेडर कुडरेसोभको आत्मघाती गोल नै क्रोएसियाको विश्वकप छनोटमा निर्णायक बन्यो । उनले ८१औं मिनेटमा आत्मघाती गोल गरेका थिए ।
विश्वकपमा सोझै छनोट हुन क्रोएसियालाई जित आवश्यक रहँदा सोही नतिजा आत्मसाथ गर्न सफल भयो । रसियालाई बराबरी नै पर्याप्त रहेपनि सोहि नतिजा निकाल्न सकेन। छनोटमा क्रोएसियाले रसियालाई १ अंकले पछि पार्यो ।
उक्त नतिजा पछि क्रोएसियाले १० खेलबाट २३ अंक जोडेको छ। रसिया भने २२ अंक जोडेर दोस्रो स्थानमा रह्यो । रसियाले अब विश्वकपमा छनोट हुन प्ले अफ खेल्नुपर्ने छ । प्ले अफका खेलहरु आगामी मार्चमा हुनेछ।
अर्को खेलमा घरेलु मैदानमा स्पेनले स्वीडेनलाई १-० ले पराजित गर्दै विश्वकपमा छनोट हुन सफल भएको हो। पराजित स्वीडेनले भने विश्वकपमा छनोट हुन प्ले अफ खेल्नुपर्ने भएको छ।
८६औं मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका मोराटाले ओल्मोकै पासमा गोल गर्दै स्पेनलाई १-० को जित दिलाउँदै विश्वकपमा छनोट गराए।
यो जितसँगै स्पेनले समूह ‘बी’ मा ८ खेलबाट १९ अंक जोड्न सफल भएको छ।