हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| सिनियर टोलीका युवा खेलाडी आयुष घलानले भारतमा अर्को सातादेखि सुरु हुने यु २० साफ च्याम्पियनशिपमा नेपालको कप्तानि गर्ने भएका छन्।
प्रतियोगितामा दुईपटक उपाधि जित्ने अवसर प्राप्त गरिसकेको नेपालले यसपटक पनि सोही लक्ष्य बनाएको छ।
गत साता टोलीका सदस्य तथा सिनियर राष्ट्रिय टोलीका सदस्य आयुष घलानले टोलीको लक्ष्य साफ जितेर एएफसी छनोट खेल्ने भएको बताएका थिए।
सन् २०१५ देखि सुरु भएको यस प्रतियोगितामा नेपाल सन् २०१५ र २०१७ गरेर दुईपटक बिजेता बनेको थियो।
छिमेकी राष्ट्र भारत यसअघिको संस्करणको विजेता रहेको छ भने बङ्गलादेश दुईपटकको उपविजेता बनेको छ।
च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहने छ।
सिंगल राउन्ड रोबिनको आधारमा हुने प्रतियोगितामा, तालिकामा शीर्ष दुई स्थान हात पार्ने टोलीले सोझै फाइनल प्रवेश गर्नेछन्।
प्रशिक्षक मेघराज केसीको व्यवस्थापकीय जिम्मेवारीमा रहने नेपाली टोलीले राम्रो नतीजा ल्याउनेमा प्रशिक्षक विश्वस्त देखिन्छन्।
प्रशिक्षक केसीले खुला प्रतिस्पर्धामा ७ सय खेलाडीबाट अन्तिम २३ खेलाडी छनोट गरेका थिए।
सहिद स्मारक ए डिभिजन लिग खेलेका केही अनुभवी खेलाडीसहित बी र सी डिभिजन खेलेको खेलाडीको संयोजनमा टोली बनेको छ।
प्रतियोगितामा सहभागिता जनाउन नेपाल शुक्रबार भारततर्फ लाग्नेछ।
च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ। भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा हुने उद्घाटन खेल जुलाई २५ मा हुनेछ।
नेपालले दोस्रो खेलमा श्रीलंकासँग जुलाई २७ मा खेल्नेछ ।
त्यस्तै भारतसँग जुलाई ३१ र अन्तिम खेल बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ।
नेपाली टोली:
गोलकिपर : ईश्वर गुरुङ, उनेश चौधरी, जियारथ सेख
डिफेन्डर : अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइबा
मिडफिल्डर : दिपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिश रत्न छिन्जु, सुगम सुवाल, मनग्य नकर्मी, आयुष घलान
फरवार्ड : रोहित सुब्बा, निरञ्जन मल्ल, रोहन खड़गी