हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौँ| म्यानचेष्टर युनाइटेडले नयाँ प्रशिक्षक एरिक टेन ह्याग नियुक्त गरेसँगै क्रिस्टियानो रोनाल्डो कसरि खेल्नेछन भन्ने प्रश्न उठ्न थालेका छन्।
रोनाल्डो गत सिजन म्यानचेस्टर युनाइटेडका लागि २४ गोल गर्दै टोलीमा सर्वाधिक गोलकर्ता बनेका थिए।
नेदरल्याण्डमा बिगत चार बर्ष प्रशिक्षण गरेका टेन ह्यागले प्रमुख रुपमा हाई प्रेसिंग र द्रुत आक्रमणलाई प्राथमिकता दिने गरेका छन्।
आयक्सका पूर्व प्रशिक्षक जोहान क्रुफबाट टोटल फुटबलको प्रेरणा लिएका उनी पेप गुवार्दिओलाको एस्सीस्टेन्ट पनि रहेका छन्।
विपक्षीको क्षेत्रमा रहेर बल स्वामित्व ग्रहण गर्नु, उच्च प्रेस गर्नु टेन ह्यागले खेलाउने फुटबलको विशेषता रहेको छ।
उनले खेलाउने शैलीमा पहिलो तहमा टोलीका अग्रपंक्तिका खेलाडीहरुले द्रुतगतिमा हाई प्रेसिंगको मद्दतले बल जित्ने प्रयास गर्दछन्।
तर त्यसको ठीक विपरीत अर्थमा ३७ वर्षीय क्रिष्टियानो रोनाल्डो बने प्रारम्भिक रुपमा हाई प्रेसिंग गर्न रुचाउँदैनन्।
उनको सिद्धान्त विपरीत रोनाल्डोले आफ्नो खेल बदल्न नसक्ने हुँदा अब उनको भविष्य के होला भन्ने अन्योल बढेको छ।
यससँगै सिस्टममा फिट नहुने लक्षण देखिन थालेपछि रोनाल्डोले युरोपका अन्य क्लबहरु सँग भविष्य खोज्न थालेको ‘ला रिपब्लिका’ ले बताएको छ।
प्रशिक्षकको सिद्धान्तसँग मेल खान नसक्ने भएपछि रोनाल्डो हाल आफूलाई उनको योजनामा नरहेको महसुस गर्न थालेको रिपोर्टले बताएको छ।
उनका एजेन्ट जर्ज मेंडेसले पनि आउँदो दिनमा युरोपका अन्य क्लबहरु सँग यस विषयमा छलफल गर्न सक्ने बताइएको छ।
अर्कोतिर रेड डेभिल्सले खेलाडीमा मात्र नभई माथिल्लो तहमा आफ्ना कर्मचारीहरुलाई पनि फेरबदल गरिरहेको छ।
विगत आठ वर्षयता प्रमुख डिभिजनमा आफ्नो दाबेदारी प्रस्तुत गर्न नसकिरहेको अवस्थामा अब स्थिति परिवर्तन गर्ने जमर्को गरिरहेको छ।
जसको फलस्वरुप म्यान्चेस्टर युनाइटेडमा झण्डै एक दशक लामो समयसम्म बसेका एड वुडवार्डलाई हटाइसकेको छ।
फुटबलको विकास तथा ट्रान्सफर गतिविधि सम्हाल्नका लागि अहिले म्यानचेस्टर युनाईटेडमा अन्य कर्मचारी थपिएका छन्।