हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इंग्ल्याण्डका विश्वकप विजेता कप्तान इयोन मोर्गनले सबै प्रकारका अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने भएका छन्।
आयरल्यान्डको राष्ट्रिय क्रिकेट टोलीबाट २००६ मा अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला राखेका मोर्गनले सन् २००९ बाट इंग्ल्याण्डको प्रतिनिधित्व गरेका थिए।
इंग्लिस क्रिकेटमा सिमित ओभरका उत्कृष्ट ब्याट्सम्यान मध्येका एक कहलिएका मोर्गनको नेतृत्वमा इंग्लिस टोलिले सन् २०१९ मा एकदिवसीय विश्वकप जितेको थियो।
३५ वर्षीय मोर्गनले यस वर्षको अन्त्यमा अष्ट्रेलियामा हुने टि ट्वान्टी विश्वकपमा इङ्ल्यान्डको नेतृत्व गर्ने इच्छा व्यक्त गरेका थिए।
तर फर्म र फिटनेसको बढ्दो चिन्ताले उनले सबैखाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन्।
पछिल्लो दुई वर्षमा रन बनाउन संघर्षरत रहेका मोर्गनले सन् २०२१ देखि यताको अवधिमा केवल एक अर्धसतक प्रहार गरेका छन्।
उनले इंग्ल्यान्डका लागि एक दिवसिय क्रिकेटमा झण्डै ७ हजार रन बनाएका छन्।
उनले कप्तानी पद जिम्मेवारी ग्रहण गरेसँगै इंग्लिस क्रिकेटले भाग्य फेरेको विश्लेषकहरूको ठम्याई रहेको छ।
टोलीमा नयाँ तथा क्रम खेलाडीहरूको समिश्रण बनाएर इंग्लिस क्रिकेटलाई बलियो र आक्रामक बनाउने काम उनले गरेको बताइन्छ।
उनले जोस बटलर, जोनी बेयरस्टो, जेसन रोय र लियाम लिभिङस्टोन जस्ता उत्कृष्ट खेलाडीहरू बनाउन मद्दत गरे।
त्यसपछि उनले उनीहरूलाई आईपीएल खेल्न प्रोत्साहित गरे, जहाँ उनीहरूले अझ राम्रो हुन सिके।
उनले २०१५ को विश्वकप अगाडि एलिस्टर कुकबाट कप्तानीको जिम्मेवारी सम्हालेका थिए।
कप्तानको रुपमा सन् २०१५ को विश्वकपमा राम्रो प्रदर्शन गर्न असफल भएपनि २०१९ मा आफ्नै घरेलु भूमिमा भएको एकदिवसीय विश्वकप भने इंग्ल्यान्डले आफ्नो नाम गरेको थियो।
मोर्गनले एकदिवसीय क्रिकेटमा १२६ पटक र टी–२० मा थप ७२ पटक कप्तानी गरेका छन्।
२०१५ देखि मोर्गनको उपकप्ताको रूपमा सेवा गरेका जोस बटलरले भारत विरुद्ध कप्तानी गर्ने सम्भावना छ।