हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| जुन महिनाको अन्त्य नजिकिए सँगै हालका युरोपियन क्लबहरूसँग धेरै शिर्ष खेलाडीहरूको सम्झौता सकिएको छ।
केहीले पहिले नै आफ्नो भविष्य क्रमबद्ध गरिसकेका छन् भने केहिको अर्को गन्तब्य निश्चित छैन।
नोभेम्बरमा सुरु हुने विश्वकपसँगै कतार जानेहरुका लागि नियमित फुटबल खेल्नु अनिवार्य रहेको छ।
बिहीबारदेखि क्लबहरूले फ्री ट्रान्सफरमा खेलाडीहरू साइन गर्न सक्षम हुनेछन्।
महामारीको कारण धेरै क्लबहरूको आर्थिक संघर्षलाई ध्यानमा राख्दै,फ्री ट्रान्सफरहरू कसैलाई बढी आकर्षक हुन सक्छ।
यसपटक फ्री एजेन्ट भएका शिर्ष युरोपियन क्लबहरुका केहि शिर्ष खेलाडीहरुको नाम यसप्रकार रहेका छन्:
२१ वर्षको उमेरमा रियल म्याड्रिडमा एक होनहार युवा खेलाडीको रूपमा सामेल भएपछि, इस्कोले नौ सिजन पछि क्लब छाड्ने भएका छन्।
बार्सिलोनाले लुइस स्वारेजलाई छोड्ने निर्णय गरेपछि एट्लेटिकोमा आफ्नो उत्कृष्ट फर्म पुन: देखाए। दुई सिजन र एक लिग उपाधि पछि स्वारेजले महिनाको अन्त्यमा क्लब छाड्ने छन्।
बार्सिलोनाका विंगर उस्मान डेमबेलेले अहिले सम्म बार्सिलोनाका लागि नयाँ सम्झौतामा हस्ताक्षर गर्ने छाँटकाँट देखाएका छैनन्। उनको पनि सम्झौता यसै महिनाको अन्त्यमा सकिँदैछ।
युभेन्टस छोडेर म्यानचेस्टर युनाइटेड गएको ६ वर्षपछि फ्रान्सेली खेलाडी पोग्बा फ्री ट्रान्सफरमा टुरिन फर्किएका छन्। पोग्बालाई १०० मिलियनमा बेचेर सित्तैमा पाउनु अर्को सौभाग्य रहेको छ।
पेरिस सेन्ट-जर्मेनमा सामेल भएको सात सिजन, फ्रान्समा डि मारियाको समय समाप्त हुने निश्चित छ। पोग्बा जस्तै, युभेन्टस उनको अर्को क्लब हुन सक्ने बताईएको छ।
पछिल्लो समय संघर्षरत अर्जेन्टिनि स्टार पाउलो डिबालाले सात सिजनपछि युभेन्टसलाई बिदाइ गर्ने भएका छन्। उनी अर्को इटालियन शीर्ष क्लब इन्टरमा सामेल हुन खोज्दैछन्।
इभोरियन मिडफिल्डर फ्रान्क केसेले बार्सिलोनाका लागि एसी मिलान छाड्नेछन, उनले गत सिजन मिलानलाई दशक पछि शिर्ष डिभिजन उपाधि जिताउन मुख्य भूमिका खेले।
तर मिडफिल्डरको सेवा सुरक्षित गर्न बार्सिलोनाले आफ्नो आर्थिक अवस्था सुधार गर्नुपर्नेछ।
चेल्सीमा पछिल्लो पाँच सिजन बिताएका डेनिस सेन्टर ब्याक क्रिसटिनसेनको अवस्था पनि त्यस्तै छ।
जाभिको टोलीमा आबद्ध हुने उनको सम्भावना निकै राम्रो छ तर बार्सिलोनाको आर्थिक अवस्था सुधार नभएसम्म उनी दर्ता हुन सक्ने छैनन् ।
अर्का फ्री एजेन्ट भएका खेलाडी हुन क्रिस्चियन एरिक्सन। म्यानचेस्टर युनाइटेड डेनिस खेलाडीको रोजाइको गन्तव्य जस्तो देखिन्छ।
मखितारियनले मोरिन्होको रोमासँगको गत सिजन कन्फरेन्स लिग जितेका थिए। यस सिजनको सम्झौता समाप्त भएपश्चात उनले रोमासँग सम्झौता नलम्ब्याउने निर्णय गरिसकेका छन्।