हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| ट्रान्सफर मार्केटमा विश्वस्तरीय फरवार्ड भित्र्याउने म्यान्चेस्टर सिटीको गुरुयोजना यसपटक भने सम्भव भएको छ।
आफ्नै कीर्तिमानी गोलकर्ता सर्जियो अग्वेरोको प्रस्थानसँगै म्यानचेष्टर सिटीले युवा खेलाडीहरुलाई उक्त स्थानमा मौका दिएको थियो।
रहिम स्टरलिंग र ग्याब्रियल जिससको लयले सिजनको लामो दौडमा निरन्तरता पाउन नसक्दा सिटि अर्का स्ट्राइकर भित्राउन बाध्य बन्यो।
टोलीमा प्राकृतिक नम्बर ९ को कमि हुदा म्यानचेष्टर सिटीले विशेषगरी युरोपियन प्रतियोगितामा मात खान पुगेको थियो।
गत बर्ष स्पर्सका खेलाडी ह्यारी केनलाई भित्र्याउनका लागि १५० मिलियनको प्रस्ताव गरेपनि इंग्लिस च्याम्पियन सिटि सफल हुन सकेन।
यसपटक भने बोरुसिया डर्टमण्डबाट अहिलेका स्टार युवा खेलाडी एरलिंग हालान्ड भित्रिएका छन्।
प्राकृतिक नम्बर ९ रहेका फरवार्ड एरलिंगले बोरुसिया डर्टमुन्डका लागि विगत दुई सिजनमा विश्वस्तरीय ढंगले एकपछि अर्को गोल गरिरहेका छन्।
अग्ला कदका शारीरिक रुपमै अब्बल भएका एरलिंग, म्यानचेष्टर सिटीले अहिले खोजेको देवतानै हुन भन्दा फरक पर्दैन।
चोटका कारण अघिल्लो सिजन केही खेलहरु गुमाएपनि विगत तीन सिजनमा उनको गोल गर्ने क्षमता निकै अपत्यारिलो रहेको छ।
विपक्षीको पोस्ट अघि हाफ स्पेसमा पनि हालान्डको उपस्थिति निकै डरलाग्दो देखिन्छ।
सेट पिस देखि लिएर ओपन/इन्टर प्लेमा पनि निकै अब्बल रहेका उनको वृत्ति र सटीक क्षमता, म्यान्चेस्टर सिटीका लागि बहुउपयोगी साधन रहेका छन्।
डर्टमण्डका लागि गरेका ८६ गोल मध्ये झण्डै ६० गोल डिबक्स भित्र आएका छन्। यसले उनको स्तरीय मुभमेन्टको बारेमा उल्लेख्य रुपमा बताउदछ।
अर्कोतिर म्यान्चेस्टर सिटीका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका केभिन डी ब्रुन प्रमुख हतियार बन्नेछन्।
पछिल्ला ५ सिजनमा म्यान्चेस्टर सिटीका लागि प्रिमियर लिगमा ६५ भन्दा बढि सहायता तथा ४० बढी गोल गरिसकेका मिडफिल्डर डी ब्रुन करियरकै सबैभन्दा उच्चलयमा छन्।
आक्रमण खेलमा निकै कुशलता देखाउने केभिनले बनाउने “हाफ चान्सेस” लाई गोलमा परिणत गर्ने खालका खेलाडी हुन हालान्ड।
एरलिंगको जस्तो कुशल मुभमेन्ट र सटिकता अहिलेका सिटीका वाइड फरवार्डमा देखिंदैन।
यी दुवै खेलाडीले एकै सिजनमा व्यक्तिगत रुपमै टोलीका लागि २५ भन्दा बढी गोलमा प्रत्यक्ष संलग्नता देखाउने गरेका छन्।
घरेलु लिगमा मात्र नभई युरोपको शीर्ष लिग प्रतियोगिता च्याम्पियन्स लिगमा पनि एरलिंगले विश्वस्तरीय प्रदर्शन गरेका छन्।
प्रतियोगितामा २५ पटक सहभागिता जनाउँदा उनले अहिलेसम्म २७ गोल गरिसकेका छन्।
उनको आगमनले युरोपमा सिटिले राम्रै तहल्का पिट्ने निश्चित प्रायः छ।
यी दुबै खेलाडीको प्रत्यक्ष संलग्नतामा म्यानचेष्टर सिटीले लगातार रुपमा दबाब बनाइरहेको इंग्लिस फुटबलमा थप आक्रमकता थप्ने निश्चित छ।
पछिल्लो तीन सिजनमा एकपटक च्याम्पियन्स लिग फाइनलको यात्रा गरेको म्यानचेष्टर सिटीले, हालान्डको उपस्थितिमा आफ्नो पहिलो युरोपियन ट्रफीको खडेरी अन्त्य गर्न सक्ने प्रबल सम्भावना देखिन्छ।