हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| भारतको भुवनेश्वरमा जारि यु २० साफ च्याम्पियनसिपमा नेपालको प्रदर्शन निकै लोभलाग्दो देखिएको छ।
समग्र नेपाली फुटबल समर्थक मात्र नभई नेपाली सिनियर टोलीका प्रशिक्षक अब्दुल्लाहले समेत यसको प्रशंसा गरिरहेका छन्।
दोस्रो खेलमा श्रीलंका विरुद्ध जित हात पारे पश्चात उनले ठट्यौली पारामा अब नेपाली सिनियर फुटबल टोलीले सजग हुनुपर्ने समेत बताए।
प्रतियोगिताको तीनवटा संस्करण समाप्त हुँदासम्म नेपाल हालसम्म सर्बाधिक दुई पटकको विजेता बनेको छ भने छिमेकी राष्ट्र भारत एक पटकको विजेता रहेको छ।
घरेलु मैदानमा भइरहेको प्रतियोगितामा भारत यसपटकको साविकको बिजेता रहेको छ। तर प्रतियोगिताको सुरुवात भने उसले सोचे अनुसारको गर्न सकेन।
यसपटक केही नयाँ फुटबल खेलिरहेको बङ्गलादेश विरुद्ध २-१ गोल अन्तरले पराजित हुँदै भारतले प्रतियोगिताको सुरुवात गरेको थियो।
भारतले दोस्रो खेलमा लगातार दुई हार बेहोरिसकेको श्रीलंका विरुद्ध प्रतिस्पर्धा गर्दैछ।
साविकको विजेता रहेको भारत अब रोकियो भने सम्भवत प्रतियोगिताबाटै बाहिरिने संघारमा देखिन्छ।
प्रतियोगितामा संवेदनशील अवस्थामा पुगेपछि भारतका मुख्य प्रशिक्षक सणमुगम वेनकटेशले अबका सम्पूर्ण खेल महत्वपूर्ण रहेको बताएका छन्।
‘अब हामी पछाडि फर्केर निराश हुनुहुन्न, बंगलादेशसँगको खराब नतिजा हामीले बिर्सिनुपर्छ । हामीले श्रीलंकासँगको खेलमा उत्कृष्ट प्रदर्शन गर्नुपर्छ । यो खेल हाम्रो लागि निकै महत्वपूर्ण छ,’
‘हामी श्रीलंकाको सामना गर्न पूरा तयार छौं । त्यहीअनुसार तयारी पनि गरेका छौं । अघिल्लो खेलमा गरेका केही गल्ती दोस्रो खेलमा दोहोर्याउनुहुन्न ।’
प्रतियोगितामा दुवै खेल हारिसकेको श्रीलंकाविरुद्ध भारतीय टोलीले तुलनात्मक रुपमा सहज हुने भएता पनि नेपालविरुद्धको खेल कठिन रहेको छ।
नेपालका विरुद्ध पनि आफूहरूले उत्कृष्ट रणनीति बनाउँदै जित्नकै लागि मैदानमा उत्रने उनको भनाई रहेको छ।
‘हामीले बाँकी तीनमा उत्कृष्ट खेल्नुपर्छ, जित निकाल्ने सके हाम्रो लक्ष्य पनि पूरा हुनसक्छ।’
“शुक्रबार श्रीलंका, आइतबार नेपाल र मंगलबार माल्दिभ्सविरुद्ध खेल्ने तालिका छ । ती सबै खेलमा जित निकाल्ने तरिकाले खेल्नुपर्छ,’ उनले भने ।