हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इंग्लिस प्रिमियर लिग अन्तर्गत आज भएको खेलमा लिड्स युनाईटेडले चेल्सी विरूद्ध दुई दशक पछि शानदार जित निकालेको छ।
घरेलु मैदानमा बलियो चेल्सीलाई ३-० गोल अन्तरले पराजित गर्दै लिड्सले निकै लामो जितविहिन यात्रालाई पूर्णविराम लगाएको हो।
तुलनात्मक रुपमा राम्रो सुरुवात गरेको चेल्सीका लागि १५औ मिनेटमा रहिम स्टरलिंगले सुरुवाती गोल गरेपनि अफसाइड ठहर भएको थियो।
त्यसपछि ३३ औ मिनेटमा चेल्सीका गोलरक्षक मेन्डीले आफ्नै गोल पोस्टमा गम्भीर गल्ति गरेपछि फाइदा उठाउँदै लिड्सका ब्रेनडन आरोनसनले गोल गरेका थिए।
क्लियर गर्नुपर्ने बललाई होल्ड गरेर राख्दा किपर मेन्डीले ब्रेण्डनको प्रेसिंग लाई थेग्न सकेनन् र फुत्किएको बललाई ब्रेण्डनंले सहजै गोलमा परिणत गरे।
त्यसपछि लगातार आक्रमक बनेको लिड्स युनाईटेड ले चेल्सीको पोस्टमा धावा बोल्न सफल भयो।
त्यसपछि ३७औं मिनेटमा रोड्रिगोले गोल गर्दै लिड्सको अग्रता दोब्बर पारे। उनले ज्याक ह्यारीसनको पासमा गोल गर्न सफल भएका थिए।
पहिलो हाफमै २-० ले पछि परेको चेल्सीका लागि स्टार खेलाडी मेसन माउन्ट, हाभेर्ज लगायतका खेलाडीले असरदार प्रदर्शन गर्न सकेनन्।
लिड्सका लागि ६९औं मिनेटमा शानदार मुभ बनाउदै ज्याक ह्यारीसनले रोड्रिगोको पासमा गोल गर्दै टोलीलाई ३-० को जित दिलाए।
खराब प्रदर्शनबाट गुज्रेको चेल्सीका लागि यसै सिजन क्लबमा सामेल भएका कुलिबालीले ८५ औ मिनेटमा दोहोरो पहेंलो संगै रातो कार्ड खादै मैदान छाडेका थिए।
जितसँगै लिड्सले चेल्सी संगै गत सिजन घरेलु मैदानमा बेहोरेको हारको बदला लिन समेत सफल भएको छ।
ट्रान्सफर मार्केटमा पनि खासै उपलब्धि हात पार्न नसकेको चेल्सीका प्रशिक्षक टुकेल माथि भने हारले थप दबाब बढाएको छ।
गतसाता टोटेनह्याम विरूद्ध २-२ गोलको बराबरी खेलेको चेल्सी ३ खेलबाट ४ अंक सहित १२ औ स्थानमा छ भने ७ अंक जोडेको लिड्स दोस्रो स्थानमा उक्लिएको छ।