हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| रियल मड्रिडका स्टार खेलाडी लुका मोड्रिकले क्लबमा आफ्नो कार्यकाललाई थप एक वर्ष लम्ब्याउने भएका छन्।
व्यक्तिगत पाचौं तथा क्लबका लागि १४औँ च्याम्पियन्स लिग उपाधि जितेपछि मोड्रिक अझै एक वर्ष एनसेलोटीको योजनामा रहने भएका हुन्।
उनीसँगै जर्मन खेलाडी टोनी क्रुस र क्यासमिरोको मिडफिल्डले यस सिजन रियल मड्रिडलाई ऐतिहासिक ३६ औं पटक लालिगा उपाधि समेत जिताउन सफल भएको छ।
एक दशकअघि इंग्लिस क्लब टोटेन्ह्याम बाट स्पेनको राजधानी भित्रिएका लुका, त्यसयता टोलीको मुख्य खेलाडीका रूपमा रहेका छन्।
रियल मड्रिडमा झण्डै एक दशकदेखि आफ्नो प्रभुत्व जमाइरहेका क्रोएसियन मिडफिल्डरले लस ब्लानकोसलाई प्रतिनिधित्व गर्दै बेलुन डी ओर पनि हात पारिसकेका छन्।
सन् २०१८ मा रियल मड्रिडलाई ऐतीहासिक च्याम्पियन्स लिग ट्रेबल जिताउन प्रमुख भूमिका खेलेका मोड्रीकले उक्त वर्ष फिफा बर्ष खेलाडी र बेलुन डी ओर जित्न सफल भएका थिए।
सम्झौता लम्ब्याउने कुरा गत फेब्रुअरी महिनामै सुरुवात भएपनि दुबै पक्षले यसलाई निरन्तरता दिन केही समय कुरेको थियो।
रियल मड्रिडको तर्फबाट पनि उनको सम्झौतालाई लिएर कुनै पनि शंका नभएको कुरा स्पेनी पत्रिका मार्काले बताएको छ।
उनि सँगै उनका अर्का सहयात्री टोनी क्रुसले पनि रियल मड्रिडमा आफ्नो सम्झौतालाई लम्ब्याउने भएका छन्।
ब्राजिलियन खेलाडी मार्सेलोले भने करिब १५ वर्षको मड्रिड बसाई पश्चात यसै सिजन आफ्नो २५ औं उपाधि हात पार्दै रियल मड्रिडलाई बिदाई गरेका छन्।