हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| लिभरपुल तथा इजिप्टका स्टार फर्वाड मोहमद सालाहले क्लबसँग नयाँ सम्झौतामा हस्ताक्षर गरेका छन्।
पछिल्लो केही समययता क्लबसंग आन्तरिक छलफलमा समझदारीमा आउन नसकेको रिपोर्टहरू आइरहेका थिए।
लिभरपुलसँग केवल एक वर्षको सम्झौता बाँकी रहँदा, उनले अब क्लब छाड्ने समेत अनुमान लगाउन थालिएको थियो।
तर उक्त रिपोर्टलाई व्यंग्यात्मक शैलीले प्रस्तुत गर्दै उनले सम्झौता गरेको नयाँ भिडियोमा आफू बस्ने कुरा बताएका छन्।
गत सिजन लिभरपुलको शीर्ष गोलकर्ता रहेका सालाह, नयाँ सम्झौतासँगै प्रिमियर लिगमा उत्कृष्ट कमाइ गर्ने खेलाडी मध्ये एक बनेका छन्।
सन् २०२५ सम्म चल्ने नयाँ सम्झौता अनुसार उनले प्रतिहप्ता ३,५०,००० पाउण्ड प्राप्त गर्नेछन्।
उनलाई प्रदान गरीने पारीश्रमिक लिभरपुलको क्लब इतिहासमै सर्वाधिक रहेको छ।
क्लबको आधिकारिक वेबसाइट सम्झौता गरेपछि खुशी व्यक्त गर्दै, उनले आगामी दिनमा यस सहकार्य अझै मजबुत भएर जाने अपेक्षा गरेका छन्।
“मलाई राम्रो लागेको छ र [म] क्लबसँग ट्रफी जित्न पाउँदा उत्साहित हुन्छु।यो सबैका लागि खुसीको दिन हो।”
“मलाई लाग्छ, नविकरण गर्न अलिकति समय लाग्छ, तर अब सबै कुरा सकिएको छ त्यसैले हामीले अब के हुन्छ भन्नेमा ध्यान केन्द्रित गर्न आवश्यक छ। पछिल्लो पाँच वा छ वर्षमा टोली सधैं [माथि] गइरहेको देख्न सक्नुहुन्छ।”
“अघिल्लो सिजन हामी शीर्ष प्रमुख दुई उपाधिबाट बन्चित हुन पुगेका थियौं। यस सिजन पुनः त्यही चुनौती पूरा गर्नुपर्नेछ।”
अघिल्लो सिजन इङलिस प्रिमियर लिगमा केवल एक अंकले दोस्रो स्थान हात पारेको लिभरपुलले, च्याम्पियन्स लिग फाइनलमा रियल मड्रिडको हातबाट पराजय व्यहोरेको थियो।
मोहमद सालाहको नयाँ सम्झौता सँगै लिभरपुलले यसपटक क्लब रेकर्ड तोड्दै बेन्फिकाबाट डार्विन नुनेजलाई सय मिलियनमा भित्र्याएको छ।
क्लबबाट अर्का सेनेगलका फरवार्ड साडियो मानेले भने बायर्न म्युनिखसँग सम्झौता गरिसकेका छन्।