हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नामिबिया बिरुद्धको पहिलो खेलमा नेपालले २२१ रनको विजयी लक्ष्य पाएको छ।
स्कटल्यान्ड स्थित क्यामबुस्डुन न्यू ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको नामिबियाले ४७.३ ओभरमा सवै विकेट गुमाउदै २२० रन बनाएको थियो।
सुरुवाती १० ओभरमा उत्कृष्ट ब्याटिङ गरेको नामिबियाले, पहिलो पावरप्ले पछि भने सोही लयलाई निरन्तरता दिन सकेन।
ओपनरद्वय लो हान्ड्री लरेन्स र डिभान ला ककले पहिलो विकेटका लागि ६.३ ओभरमा ३१ रनको साझेदारी गरेका थिए।
लरेन्सले २३ बलको सामना गर्दै १८ रन बटुल्दा, ला ककले आक्रामक ब्याटिंग गर्दै ३२ बलमा ४१ रन बनाए।
दुवै ओपनरलाई गुमाउन पुगेपछि नामिबियाको पारि सुस्ताएको थियो। नामिवियाका लागि मध्यक्रमका ब्याट्सम्यान जान इटनले सर्वाधिक ६० रन बनाए।
माथिल्लो क्रमका भरपर्दा ब्याट्सम्यान क्रेग विलियम्स २१ रनमा रन आउट हुन पुग्दा गेर्हार्ड इरास्मसले २२ रनको योगदान दिए।
विकेटकिपर ब्याट्सम्यान जेन ग्रिन केवल ३ रनमा पेभेलियन फर्किंदा योहानेस स्मितले १७ रन बनाए।
एक समय निकै आक्रामक देखिएको नामिवियन टोली विरुद्ध पुनरागमन गर्ने क्रममा नेपाल स्पिनरहरुले उल्लेख्य योगदान गरे।
दिपेन्द्र सिंह ऐरीले १० ओभर बलिङ गर्दै ४१ रन दिएर १ विकेट लिए भने वासिर अहमदले ७.२ ओभरमा केवल १८ रन दिएर एक विकेट लिए।
कप्तान सन्दिप लामिछानेले माथिल्लो क्रमलाई धराशायी बनाउदै १० ओभरमा ५४ रन दिदै सर्वाधिक ४ विकेट हात पारे।
अर्का बलर मोहमद अदिल अलामले ७ ओभरमा २ मेडन राख्दै विन कुनै विकेट २४ रन दिए।
तिब्र गतिका बलर सोमपाल कामि केहि महँगा भएपनि महत्वपूर्ण दुई विकेट हात पारे। अर्का पेस बलर करण केसीको नाममा एक विकेट रह्यो।
जुन १० देखि सुरु भएको शृंखलामा नामिवियाले आफ्नो पहिलो खेल खेलिसकेको छ।
घरेलु टोली स्कटल्यान्ड विरुद्ध भएको पहिलो खेलमा नामिबियाले ७७ रनको पराजय व्यहोरेको थियो।