हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौँ| आइसिसी विश्व क्रिकेट लिग २ अन्तर्गत, युएईमा जारी त्रिकोणात्मक शृंखलामा नेपालले विहिबार घरेलु टोलि युएईको सामना गर्दैछ।
जारी प्रतियोगितामा हालसम्म २९ खेल खेलेर तालिकामा छैठौं स्थानमा रहेको नेपालका लागि, घरेलु टोली विरुद्धको खेल निकै महत्वपूर्ण हुने देखिन्छ।
भारतमा यसै वर्ष हुने एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको सहभागिताका लागि होस् या एकदिवसीय मान्यतालाई टिकाइराख्न, नेपालले प्रतियोगितामा शीर्ष पाँच स्थान हात पार्न जरुरी छ।
विश्वक्रिकेट लिग प्रतियोगितामा नेपालको सम्पूर्ण खेल समाप्त हुन, यो सहित अब एउटा मात्र सिरिज बाँकी रहेको छ।
प्रतियोगितामा सम्मिलित सबै सात टोलीले समान ३६ खेल खेल्दा, शिर्ष ३ टोलीले ले सोझै विश्वकप छनौटमा सहभागिता जनाउने छन्।
यसैगरी प्रतियोगितामा शीर्ष पाँचमा रहने टोलीले एकदिवसीय मान्यता निरन्तर पाउनेछन् भने, विश्वकपको छनोट क्वालिफायरमा समेत सहभागिता जनाउन सक्ने प्रावधान रहेको छ।
अङ्क तालिका नियाल्ने हो भने शीर्ष ३ मा आफ्नो स्थान बनाउनका लागि लागि नेपालले बाकी ७ मध्ये कम्तिमा पनि ५ खेलमा जित निकाल्नुपर्ने समीकरण छ।
नेपालले शीर्ष पाँचमा पुग्नका लागि हाल पाँच स्थानमा रहेको युएईलाई पछि पार्न, अबका युएई विरूद्धका खेलहरुमा जित निकाल्न निकै आवश्यक छ।
निकै उच्च स्तरीय प्रदर्शन देखाउँदै, घरेलु मैदानमा भएका त्रिकोणात्मक श्रृङ्खलालाई क्लिन स्विप गरेको नेपालको लगातार जितको श्रृंखला हेर्दा, यो धेरै कठिन भने देखिंदैन।
स्कटल्याण्ड र नामिविया विरुद्ध घरेलु मैदानमा उच्च प्रदर्शन गरेको नेपालले युएईमा पनि पपुवान्युगिनी विरुद्ध जित हात पारिसकेको छ।
अर्कोतिर घरेलु टोलीले युएईको प्रदर्शनले एकरुपता पाउन नसकेको देख्न सकिन्छ।
युएईको पछिल्लो पाँच खेलको नतिजा हेर्दा ३ मा हार व्यहोरेको छ भने केवल एक मात्र जित निकाल्न सफल भएको छ।
नेपाल र यूएईले एकदिवसीय अन्तराष्ट्रियमा अहिलेसम्म ९ पटक प्रतिस्पर्धा गरेका छन्। जसमा नेपाल ४ पटक विजयी हुँदा ५ पटक यूएईले खेल आफ्नो पक्षमा पारेको छ।
युएईमा एकदिवसीय श्रृंखला सकिएपछि, प्रतियोगितामा सहभागिता जनाइरहेका युएई र पपुवा न्युगिनी नेपालमा जारी प्रतियोगिताको अन्तिम सिरिज खेल्न आइपुग्नेछन्।
खेल विहिबार यूएईस्थित दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा, नेपाली समयअनुसार बिहान ११ः४५ बाट सुरु हुनेछ।