हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं|नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकका रुपमा भारतीय पूर्व खेलाडी तथा प्रशिक्षक मनोज प्रभकर नियुक्त भएका छन्।
स्कटल्याण्ड विरुद्धको त्रिकोणात्मक श्रृंखलामा राम्रो नतिजा निकाल्न असफल भएपछि श्रीलंकाली प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएका थिए।
टी-ट्वान्टी विश्वकप छनौटको मुखैमा आएर राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालेका पुबुदुको दोस्रो कार्यकालले भने राम्रो छाप छाड्न सकेन।
लगातारको किचलोका कारण अव्यवस्थित बनेको नेपाल क्रिकेट सङ्घ र राष्ट्रिय क्रिकेट टोली बीचको मनमुटावले झन् विकराल रुप लिएको थियो।
जसका कारण दोस्रोपटक टी-ट्वान्टी विश्वकप खेल्ने सपना त तुहियो नै, नेपाल अहिले विश्व क्रिकेट लिगमा पनि निकै संवेदनशील स्थानमा आएर रोकिएको छ।
सात देश सम्मिलित विश्वकप क्रिकेट लीगमा हाल छैटौं स्थानमा रहेको नेपालले, एकदिवसीय साख जोगाउनका लागि शीर्ष ५ भित्र आफ्नो स्थान बनाउन आवश्यक छ।
तर त्यसका लागि उचित तयारी समयमै गर्न आवश्यक छ। नेपाल क्रिकेट संघले ठुला घरेलु प्रतियोगिता नगराएको झण्डै दुइवर्ष वित्न सक्न लागेको छ।
उमेर समूहमा पनि, निकै अव्यवस्थित ढंगले चलिरहेको घरेलु ढाँचाबाट नयाँ तथा राम्रा खेलाडीहरुले मौका पाइरहेको अवस्था छैन।
राष्ट्रिय क्रिकेट टोलीमा रहेका अधिकांश खेलाडीहरूको म्याच फिटनेस र प्रदर्शनलाई खोतल्ने हो भने अधिकांश खेलाडीहरू फर्ममै छैनन्।
अन्तर्राष्ट्रियस्तरमा राम्रो प्रदर्शन गर्न नसकेका खेलाडीहरुलाई खेलमा फर्काउने एउटै मात्र उपाय भनेको घरेलु प्रतियोगिता रहेको छ।
तर लगातारको आन्तरिक द्वन्द्वका कारण क्रिकेट संघको भित्रै पनि नेपालीको क्रिकेटलाई कसरी विकास गर्ने भन्ने विषयमा ठोस निर्णय लिन सकेको देखिँदैन।
पछिल्लो समय नेपाली क्रिकेटको स्तर लगातार खस्किदै जानुमा नेपाल क्रिकेट संघले गरेको चरम लापरवाही प्रमुख कारण रहेको छ।
घरेलु प्रतियोगिता भन्दा बाहिर तथा अन्तर्राष्ट्रियस्तरमा नेपालको ब्याटिङ नचल्नु नौलो समस्या हैन।
तर यसका लागि नेपाल क्रिकेट संघले अहिलेसम्म ब्याटिङ प्रशिक्षकको रुपमा कसैलाई नियुक्त गरेको देखिँदैन।
भारतमा रंजी ट्रफीका समेत विजेता रहेका प्रशिक्षक मनोजलाई जिम्मेवारी दिएपनि, घरेलु संरचना नबनाउने हो भने उनी बाट पनि धेरै ठूलो आश गर्न सकिँदैन।