हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| यसैबर्ष भएको टि-ट्वान्टी विश्वकप प्रतियोगिताको छनौटमा नेपालले देखाएको ब्याटिंगको स्तरले नेपाली क्रिकेटको वर्तमान परिस्थितिलाई छर्लङ्ग बनाइदिएको थियो।
हृदयले नेपालले खेल्ने हरेक खेलमा जित सम्भव होस, नेपालले अन्तर्राष्ट्रियस्तरमा उत्कृष्ट प्रदर्शन गरोस, नेपालको नाम गुन्जायमान होस् भन्ने सबैको कामना हुने गर्दछ।
आफ्नै माटो भएका कारण आफ्नो टोलीलाई समर्थन जनाउनु स्वभाविक नै हो तर सकारात्मक हुँदाहुँदै पनि केही नतिजाहरू अपाच्य हुने गर्दछन्।
यस्तै केही अपाच्य हुने नतिजामा नेपालले भर्खरै आत्मसात गरेको ओमान विरुद्धको हार रहेको छ।
ओमानले दिएको सामान्य लक्ष्य पछ्याएको नेपाली राष्ट्रिय क्रिकेट टोली एकपटक पुनः खस्किन पुग्यो।
आधुनिक एकदिवसीय खेलमा २००-२२० का लक्ष्य अहिले सामान्य हुन तर नेपालका लागि भने यी लक्ष्य ३०० रन बराबरका हुने गरेका छन्।
घरेलु मैदानमा भन्दा अन्यत्र राम्रो प्रदर्शन गर्न नसक्ने नेपाली ब्याटिङको कमजोरी हो या गैरजिम्मेवारीपन अब चाहिँ प्रश्न उठाउने बेला भएको छ।
ओमान विरुद्धको पहिलो खेलमा फेरी नेपालले २०० रनको आँकडा पार गर्न सकेन। नेपालको मध्य क्रम र माथिल्लो ध्वास्त देखीए।
एकदिवसीय विश्वकपको सपना देखेर प्रतियोगिता सुरु गरेको नेपाल ७ देश सम्मिलित यस प्रतियोगितामा छैठौं स्थानमा रहेको छ।
अर्को खेल अमेरिका विरुद्ध छ र घरेलु टोलिको रवाफ अहिले भिन्दै बनेको छ। यस खेलमा पनि ब्याटिंगको भूमिका उत्तिकै रहने कुरामा दुई मत छैन।
प्रतियोगितामा यस्तो चुनौतीपूर्ण घडीमा आएर नेपाली ब्याट्सम्यानहरुले देखाएको गैरजिम्मेवार प्रदर्शनले भने विश्वको सपना त परै जाओस् एकदिवसीय मान्यता पनि गुम्ने संघारमा छ।
तर आश्चर्यजनकरुपमा कप्तान सन्दीप लामिछानेले भने सपना अझै पनि विश्वकप भएको अभिव्यक्ति दिएका छन्।
‘हामीसँग विश्वकप छनोट भएर विश्वकप छनोट खेल्ने टोली छ । सबै जनाले ओडिआई मान्यता बचाउ बचाउ भन्नु भएको छ । मेरो उदेश्य अर्कै छ। मेरो लक्ष्य विश्वकप खेल्नेछ । विश्वकप खेल्ने हो भने ओडिआई मान्यता हुन्छ।” खेल पश्चात सन्दीपले बताए।
राम्रो प्रदर्शन गर्ने सबै कप्तानहरु आस हुने गर्दछ तर नेपाली क्रिकेटमा अहिले संरचनात्मक र संस्थागत विकासको खाँचो छ।
हाम्रा ब्याट्सम्यानहरुले देखाउने प्रदर्शन कुनैपनि हालतमा विश्वकपमा पुग्ने स्तरको छैन भन्ने सायद सन्दीपलाई पनि हेक्का होला।
एकदिवसीय खेलमा २०० पुर्याउन पनि कठिन हुने, टी-ट्वान्टीमा १५० रनको लक्ष्य भेट्न नसक्ने यस्ता अनेकौं टिप्पणी छन् जसले नेपालले विश्वकपको ढोका औकात बाहिर छ भनेर छर्लंग बनाइदिन्छ।
यी विचार कुनैपनि हालतमा नेपाली क्रिकेटको कुभलोको लागि अथवा कसैले होच्याउनका लागि होइन तर कप्तान सन्दीपलाई एउटै प्रश्न : “संरचनात्मक विकास नभई विश्वकपको सपना देख्न सम्भब छ?”