हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| विश्वकप क्रिकेट लिग डिभिजन २ अन्तर्गतको त्रिकोणात्मक सीरीज सकेर नेपाली टोली यसै साता स्वदेश फर्कदैछ।
स्कटल्याण्डमा घरेलु टोली स्कटल्याण्ड र नामिविया विरुद्ध आफ्नो पाँचौ त्रिकोणात्मक शृंखलामा नेपालले ४ खेलमा केवल २ अंक बटुल्न सफल भयो।
पछिल्लो केही समययता विश्व क्रिकेटमा लगातार उच्च स्तरीय क्रिकेट खेल्दै आइरहेका स्कटल्याण्ड र नामिविया विरुद्ध सहज हुने अनुमान गरिएको थिएन।
अमेरिकामा भएको विश्वकप क्रिकेट लीगको प्रदर्शनले नेपालि टोलीको प्रदर्शन कस्तो हुनेवाला छ भन्नेकुरा देखाइसकेको थियो।
तर नेपालका ब्याट्सम्यानहरूको बिर्सनलायक प्रदर्शनले भने नेपाली समर्थकहरूको मन खल्लो बनाइदिएको छ।
५ महिना अघि भएको विश्वकप छनोटदेखि अहिले सम्मको यात्रामा नेपालको प्रदर्शनले सुधार पाउन सकेन।
सदाझै यसपटक पनि नेपालको प्रमुख कमजोरी आफ्नो हास्यास्पद ब्याटिंग रह्यो र यो जारी नै रहनेछ यसमा कुनै शंका छैन।
सन्दिप लामिछानेको कप्तानीमा नेपालको लगातार खराब प्रदर्शन भने नौलो होइन।
पूर्व कप्तान ज्ञानेन्द्र मल्ल क्रिकेटको कारबाहीमा परेपछि उनीबाट खोसिएको कप्तानको पद सन्दीपलाई दिएलगत्तै नेपाली क्रिकेट फुटको संघारमा पुगेको थियो।
कप्तान लामिछानेले पटक-पटक नेपाली टोली विभाजित नभएको र पुरानै अवस्थामा आफ्नो सम्बन्ध रहेको बताएपनि मैदान भित्र र बाहिरका गतिविधिले त्यस्तो देखाउँदैन।
पछिल्लो समय ज्ञानेन्द्र मल्लको टोलीमा अनुपस्थितिलिएर बारम्बार उनको करियर माथी धावा बोलेको आरोप सन्दीपलाई लगाइने गरेको छ।
प्रदर्शनकै आधारमा ज्ञानेन्द्र मल्लले टोलिमा ठाउँ नपाएका हुन् भने अहिलेको टोलीमा यस्ता खेलाडी पनि छन् जसले टोलीबाट बिदाई पाईसक्नुपर्ने थियो।
स्कटल्याण्डमा संदीप लामिछानेले कप्तानीमा कुनै कसुर बाँकी राखेनन्, उनले आफ्नो सक्दो प्रयास गरे।
विशेषगरि बलिंग युनिटले वास्तबमै स्तरीय प्रदर्शन देखाएको थियो। ब्याटिंगको पाटो हामीले नछोए जाति होला।
तर महत्वपूर्ण प्रतियोगिताहरुमा लगातार पराजय बढेसंगै सन्दिप माथि दबाब बढ्दै गएको छ।
आफ्नो दीर्घाबाट सक्दो प्रयास गरेपनि खेलाडीहरुबाट साथ नपाउँदा सन्दीपले कप्तानी छाड्नुपर्ने दिन नजिकिँदै गरेको आभास पाउन सकिन्छ।
सन्दिपले कप्तानबाट राजीनामा थमाउलान तर अहिलेको अवस्थामा नेपाली ब्याट्सम्यानहरुको प्रदर्शनले नयाँ उचाई पाउला?
कि कप्तान सँगै ब्याट्सम्यानहरु पनि परिवर्तन गर्ने समय आएको हो?