हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| भारतमा आज देखि सुरु भएको साफ अण्डर ट्वेन्टि पुरुष फुटबल प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ।
भुवनेश्वरमा भएको उद्घाटन खेलमा नेपालले शानदार प्रदर्शन गर्दै माल्दिभ्सलाई ४-० गोल अन्तरले पराजित गरेको हो।
नेपाली खेलाडी सामु निरीह भएको माल्दिभ्सले पहिलो हाफमा एक र दोस्रो हाफमा थप तिन गोल व्यहोर्दै ४-० को हार बेहोर्यो।
खेलको अधिकांश समय उत्कृष्ट खेल प्रदर्शन गरेको नेपालले, बल स्वामित्व पनि आफ्नै पकडमा लिन सफल भएको थियो।
विशेषगरि नेपालका फुल्ब्याक र मिडफिल्डरहरुको पोजिशनल तालमेलले खेल तारिफ योग्य बनाएको थियो।
भुवनेश्वरस्थित कालिंगा रंगशालामा जारी खेलमा पहिलो हाफको अन्त्यतिर दीपेश गुरुङको शानदार गोलबाट नेपालले अग्रता लिएको थियो।
४२ औं मिनेटमा रिबाउन्डमा प्राप्त बलमा दीपेशले डी एरिया बाहिर बाट शानदार गोल गरेका थिए।
पहिलो तुलनामा बढी आक्रामक र बढी सटिक देखिएको नेपालले दोस्रो हाफमा थप स्तरीय खेल प्रदर्शन गरेको थियो।
अग्रता दोब्बर बनाउन छनोटका लागि डेनमार्कबाट स्वदेश आएका सुगमले ५८ औं मिनेटमा गोल गरे।
त्यस लगत्तै कप्तान आयुष घलानलाई माल्दिभ्सका खेलाडीले पेनाल्टी बक्समा फाउल गरेपछि नेपालले पेनाल्टी पाएको थियो।
पेनाल्टीमा गोल गर्दै क्रितिश रानाले नेपाललाई ३-० को सहज स्थितिमा पुर्याए।
निर्धारित ९० मिनेटको अतिरिक्त समयमा गोल गर्दै मनग्यले नेपाललाई ४- ० को शानदार जित दिलाउन सफल भए।
प्रतियोगितामा विजेता पनि उद्देश्यले भारत पुगेको नेपालले पहिलो खेलको सफलतासँगै अन्य टोलीहरू माथी गतिलो सन्देश पठाएको छ।
स्तरीय ट्रान्जिसन देखाएको नेपालले पहिलो हाफको तुलनामा दोस्रो हाफमा बढी भन्दा बढी भर्टिकल पास खेल्दै माल्दिभ्सलाई आफ्नो कौशल देखाएको थियो।
यसका लागि प्रशिक्षक मेघराज केसीलाई पनि यस खेलको सफलताको श्रेय दिनुपर्दछ।