हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| केन्या विरुद्धको अन्तरास्ट्रिय सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली हाल कीर्तिपुरमा अभ्यास सत्रमा व्यस्त छ।
भदौ ९ गते देखि केन्याको घरेलु मैदानमा हुने खेलका लागि नेपाली क्रिकेट टोली ७ गते नेपालबाट त्यस तर्फ प्रस्थान गर्नेछ।
सन् २०२४ को टीट्वेन्टी विश्वकप छनौट प्रतियोगितामा नेपालको अन्तर्राष्ट्रिय टि-ट्वान्टी वारियताले प्रमुख भूमिका खेल्ने छ।
अन्तर्राष्ट्रिय बरियतामा शीर्ष १४ स्थानमा पर्न सकेको खण्डमा नेपालले क्वालीफायर नखेली अर्को छनोट चरणमा प्रवेश पाउने छ।
नेपाली टोली हालको वरीयतालाई सुधार गर्ने उद्देश्यका साथ, केन्यामा ५ टि ट्वान्टी र ३ ओडीआई खेलको शृंखला तय भएको हो।
यसैबीच पूर्व प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिए पश्चात भारतीय प्रशिक्षक मनोज प्रभाकर नेपाली राष्ट्रिय क्रिकेट टोलीको जिम्मेवारी सम्हाल्न काठमाडौँ आइसकेका छन्।
युवा टोलीको संग्रह रहेको नेपाली क्रिकेट टोलीको भविष्य निकै उज्ज्वल रहेको बताइरहेका मनोजले, आगामी केही महिनामै ब्याटिङ सुधार हुनेमा आशावादी देखिएका छन्।
यस अघिका नेपालको खेलको भिडियोहरु हेरिरहेको र नेपालले साना साना कमजोरीका कारण खेल हारिरहेको देखेको बताउँदै उनले ति कमजोरीहरुलाई सुधार आवश्यक रहेको बताए।
‘म यहाँ आए देखि निरन्तर वर्षा भईरहेको कारण हाम्रो अभ्यास ईन्डोरमा मात्र सिमित भएको छ । यसले गर्दा मैले राम्रोसँग खेलाडीको बारेमा समेत थाहा पाउन सकेको छैन।”
हामीले आज मात्र मैदानमा अभ्यास गर्न पायौ,’ प्रभाकरले भने ‘नेपालको ब्याटिङमा रहेको समस्या सुधारोन्मुख रहेको यसको लागि हामीहरु लागि रहेको छौँ।’
अर्कोतिर लामो समयदेखि नेपाली राष्ट्रिय टोलीमा स्थान बनाउन असफल भइरहेका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल भने यसपटक टिममा समावेश भएका छन्।
उनको आगमनलाई कप्तान सन्दिप लामिछानेले ठुलो अनुभवको रुपमा लिएका छन्।
‘उहाँ हामी सबैको सिनियर हुनुहुन्छ उहाँको अन्डरमा रहेर पनि हामीले लामो समय खेलेका छौँ,’ लामिछानेले भने।
‘उहाँबाट टिम आएका युवाहरुले धेरै अनुभव लिन सक्छन्। उहाँबाट टिमले उही अपेक्षा नै राखेको छ।’ उनले बताए।