हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नयाँ सिजनको सुरुवात हुन लागे संगै प्रिमियर लिगमा यसपटक गोल्डेन बुटको प्रतिस्पर्धा रोमान्चक हुने देखिएको छ।
नयाँ देखि पुराना अनुहार जोडिएका यसपटकको सिजनमा, शिर्ष ६ टोलीमा रहेका स्तरिय स्ट्राइकरहरु विच कडा प्रतिस्पर्धा हुने अनुमान गर्न सकिन्छ।
लिगमा हटसिटमा रहेका दुई टोली म्यानचेष्टर सिटी र लिभरपुलले आफ्नो रोष्टरमा दुई स्तरीय युवा स्ट्राइकर भित्र्याएका छन्।
म्यानचेष्टर सिटीले नर्वेजियन युवा खेलाडी एरलिंग हालन्डलाई ५ बर्षको सम्झौतामा भित्र्याएको छ।
जर्मनीमा बिगत ३ सिजन यता उत्कृस्ट लयमा रहेका एरलिंगले नयाँ क्लबबाट उस्तै प्रदर्शन दोहोर्याउनेमा प्रशिक्षक पेप आशावादी छन्।
म्यानचेष्टर सिटीले आक्रमक कदम चालेपछि उसलाई लगातार चुनौती दिइरहेको लिभरपुलले पनि आफ्नो रेकर्ड तोड्दै डार्विन नुनेज भित्र्यायो।
गत महिना करिब १०० मिलियनको प्याकेजमा लिभरपुलले पोर्चुगिज क्लब बेन्फिकाबाट डार्विन नुनेजलाई क्लबमा स्थानान्तरण गर्न सफल भएको थियो।
हाल युरोपमा शीर्ष स्तरमा प्रदर्शन गरिरहेका यी दुवै युवा खेलाडीको आगमनले प्रिमियर लिगमा रोमाञ्चकता थपिने अपेक्षा गर्न सकिन्छ।
प्रिमियर लिगमा पुराना अनुहार क्रिस्टियानो रोनाल्डो, मोहम्मद साला, ह्यारी केनले पनि नयाँ सिजनमा आ-आफ्ना बुटको संख्या बढाउन पक्कै प्रयास गर्नेछन।
अघिल्लो सिजनको गोल्डेन बुटको दौडमा पाँचपटकका विश्व खेलाडी तथा बेलुन डी’ओर विजेता रोनाल्डोले सालाह र टोटेनह्यामका सन संग प्रतिस्पर्धा गरेका थिए।
उमेरले ३७ औं वसन्त पार गरिसके पनि म्यानचेष्टर युनाइटेडको टोलीमा २२ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेका रोनाल्डो अहिले नै सुस्ताउने अवस्थामा छैनन्।
अघिल्लो सिजन केवल एक अंकले कीर्तिमानी २० औं पटकको शिर्ष डिभिजन उपाधि गुमाएको लिभरपुलका लागि सलाह र नुनेज दुवै महत्वपूर्ण खेलाडी बन्नेछन्।
स्पर्सकै अर्का महान खेलाडी ह्यारी केन प्रशिक्षक कोंटेको नेतृत्वमा अझै सुधार गर्ने संकल्पमा छन्।
उसै त घरेलु फुटबलमा थाम्नै नसक्ने भएको सिटिले हालान्डलाई क्लबमा अनुबन्ध गरेसँगै उसको अग्रपंक्ति थप सशक्त देखिएको छ।
धुरन्धार स्ट्राइकरहरुको जमात भएको यसपटकको सर्वाधिक गोलकर्ता बन्ने दौड, अघिल्लो सिजन भन्दा अझै स्तरीय र रोमाञ्चक हुने देखिन्छ।