हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायकेले बुधबार दिउँसो राष्ट्रिय टोलीको पदबाट राजीनामा दिएका छन्।
विश्व क्रिकेट लिगमा लगातार खराब प्रदर्शनलाई लिएर आलोचित बनिरहेका बेला प्रशिक्षकले व्यक्तिगत कारण देखाउँदै नेपाली टोली छाडेका छन्।
नेपाली क्रिकेट इतिहासमा सर्वाधिक सफल प्रशिक्षक बनेका पुबुदुको कार्यकालमा नेपालले विश्वक देखि विश्वक्रिकेट लिग २ सम्म यात्रा तय गरेको थियो।
उनको कार्यकाललाई स्वर्णिम खण्ड र संघर्षपूर्ण गरेर दुई चरणमा विभाजन गर्न सकिन्छ।
तत्कालीन प्रशिक्षक श्रीलंकाली प्रशिक्षक रोय डीयासले नेपाली क्रिकेटको नेतृत्व उनलाई सुम्पिदै सन् २०१२ मा नेपाल छाडेका थिए।
आफ्नो पहिलो भेटवार्तामा पत्रकारहरुसँग नेपालले विश्वकप खेल्छ भनेर अभिव्यक्ति दिएका पुबुदुले अन्ततः नेपाललाई विश्वकपमा पुर्याएर छाडे।
बङ्गलादेशमा भएको सन् २०१४ को विश्वकपमा सहभागिता, समग्र खेलकुद इतिहासकै सर्वाधिक सफल समय रहेको छ।
सन् २०१५ सम्म नेपालको नेतृत्व गरेका पुबुदुको पालामा नेपालले विश्व क्रिकेट लिग २ देखि विश्वकप सम्मको यात्रा तय गर्यो।
तर अर्का श्रीलंकाली प्रशिक्षक डेभ वाटमोरको राजीनामासँगै नियुक्ति पाएका पुबुदुको दोस्रो कार्यकाल भने सफल बन्न सकेन।
गत फेब्रुअरीमा ओमानमा भएको टि २० विश्वकप छनौटको सेमिफाइनलमा लज्जास्पद हारसँगै लगातारको खराब प्रदर्शनले उनको क्षमतामाथि लगातार प्रश्न उठ्यो।
आफूले नेतृत्व सम्हालेपछि नेपाली ब्याट्सम्यानहरूको खराब प्रदर्शनले लगातार निरन्तरता पाइरहँदा उनीमाथिको दबाब थपिएको थियो।
घरेलु मैदानमा भएका एकाध सिरिजमा सफलता पाएपनि नेपालबाहिर खेलिएका श्रृंखलाहरुमा नेपालको ब्याटिङ चल्न सकेन।
विश्वक्रिकेट लिग अन्तर्गतकै अमेरिका,ओमान र स्कटल्याण्डको भ्रमणले सुखद नतिजा निकाल्न सकेनन्।
अहिलेको ताजा स्थितिमा नेपाल विश्व क्रिकेट लिगमा छैठौं स्थानमा रहेको छ र नेपाललाई एकदिवसीय वरियता कायम राख्न शीर्ष पाँचमा रहन आवश्यक छ।
पछिल्लो चरणको नतिजाले समर्थकबीच खासै राम्रो सम्बन्ध बनाउन नसकेका पुबुदु जे भएपनि नेपालका सर्वाधिक सफल प्रशिक्षक रहेका छन्।
उनलाई आगामी दिनको सफल कार्यकालका लागि शुभकामना र नेपाललाई यो स्थान सम्म पुर्याउन महत्वपूर्ण भूमिका खेलेकोमा हृदय देखिनै नमन।