हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| स्पेनिस लालिगा अन्तर्गत दोस्रो राउण्डको खेलमा आज बार्सिलोना र रियल सोसिडाड आमने सामने हुँदैछन।
खेल रियल सोसीडाडको घरेलु मैदान इस्टाडीयो एनोइटामा हुनेछ। पहिलो खेलमा जित निकालेको सोसिडाड यसपटक बार्सिलोनालाई हराउने दाउमा रहेको छ।
सन् २०१५ मा आफ्नै घरेलु मैदानमा जित हातपारे पश्चात, पछिल्लो सात बर्ष यता सोसिडाडले क्याटलन टोलि विरूद्ध जित निकाल्न सकेको छैन।
बार्सिलोनाले भने पछिल्ला छ खेलमा सोसीडाडको मैदानमा हार बेहोरेको छैन, जसमा चार जित र दुई बराबरी रहेको छ।
गत सिजन राम्रो प्रदर्शन गर्दै च्याम्पियन्स लिगमा छनौट हुन सक्ने आस देखाएको सोसीडाडले सिजनको अन्त्य सम्म सोहि लयलाई समात्न सकेको थिएन।
च्याम्पियन्स लिग छनौट गुमाए पनि छैटौं स्थान हात पार्दै सोसीडाडले युरोपा लिगको टिकट कटाएको थियो।
यसपटक पहिलो खेलमा काडिजलाई १-० हराएको सोसीडाडले बार्सिलोना संग राम्रो नतिजा निकाल्ने अपेक्षा गरिएको छ।
अर्कोतिर गत सिजनको उपविजेता बार्सिलोनाले भने सिजनको सुरुवात राम्रो गर्न सकेन। राम्रो खेल देखाएपनि रायो भालेकानो संग गोल रहित बराबरी खेलेको थियो।
अधिकांश समय बलमा पकड जमाए पनि बार्सिलोनाको फरवार्डले सटिक फिनिस गर्न नसक्दा ३ अंक बटुल्न असमर्थ रह्यो।
अत्यावश्यक जित निकाल्ने दबाब भएपनि, जाभीले यसपटक टोलीमा सिनियर टोलीका केही खेलाडीहरुलाई विश्राम दिने भएका छन्।
बुस्केट्स, पिके, अल्वा लगायतका खेलाडीहरुलाई सोसीडाड विरूद्धको खेलमा सुरुवाती ११ मा नहुने रिपोर्टहरु स्पेनिस मिडियाले जनाएका छन्।
पछिल्लो खेलबाट खुशी नदेखिएका जाभीले टोलीलाई बढी आक्रामक र सटिक हुन चेतावनी दिइसकेका छन्।
सेभियाबाट यसै सिजन बार्सिलोनामा आएका कुण्डे अझैसम्म पनि दर्ता नभएका कारण उनलाई टोलीमा देख्न सकिने छैन।
डच खेलाडी मेम्फिस डीपाएले भने बार्सिलोना संगको सहकार्य तोड्ने संघारमा पुगिसकेका छन्. उनी ईटालियन महारथी युभेन्टस जाने लगभग पक्का भैसकेको छ।
खेल नेपाली समय अनुसार बेलुकी १:४५ मा हुनेछ।