हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| जारि ट्रान्सफर विन्डोमा स्पेनिस क्लब बार्सिलोनासंग नाम जोडीरहे पनि पोलिस फर्वाड लेवान्डोस्की बायर्न म्युनिख फर्किएका छन्।
प्रि सिजन सुरुवात भएसँगै क्लबमा मेडिकलका लागि रोबर्ट बभारियाको राजधानी म्यूनिख फर्केका हुन्।
सिजनको अन्त्य भए पश्चात उनले राष्ट्रिय टोलीसँग हुँदा आफ्नो र बायर्नको कथा अब सकिएको घोषणा गरेका थिए।
म्युनिखमा २०२३ सम्म आफ्नो सम्झौता भएपनि अब म्युनिखसँग खेल्ने कुनैपनि इच्छा नभएको उनले अन्तर्वार्तामा बताएका थिए।
सिजन समाप्त हुनुभन्दा अगाडि देखि नै बार्सिलोना रोजेको बताइएपनि बायर्नले भने उनलाई छोड्न चाहिरहेको छैन।
जर्मन महारथीका लागि खेल्दै युरोप तथा विश्वका सर्वोत्कृष्ट फुटबल खेलाडी समेत बन्न सफल रोबेर्ट लेभान्डोस्कीले आफ्नो क्लवले कुनैपनि बाधा नपुर्याउने विषयमा सकारात्मक छन्।
बायर्नका क्लब अध्यक्ष लगायतका अन्य पदाधिकारीहरुले उनको सम्झौता अन्त्य नभएसम्म रोबर्ट, म्युनिखकै खेलाडीका रूपमा रहने प्रष्ट पारिसकेका छन्।
गत साता बार्सिलोनाले बायर्नबाट खेलाडी भित्र्याउन आफ्नो प्रस्ताव पेश गरिसकेको रिपोर्ट स्पेनिश मिडियाले जनाएका थिए।
झन्डै ५० मिलियनको हाराहारीमा प्रस्ताव पठाएपनि बायर्नले सहजै स्वीकार गर्न नसक्ने जर्मन मिडियाहरुले आँकलन गरेका छन्।
जर्मन क्लबले यसरी बारम्बार ट्रान्सफरमा ढिलाई गर्नुको तात्पर्य, क्लबले रोबर्टका लागि अझै ट्रान्सफर फि बढाउनु रहेको बुझाई रहेको छ।
लिभरपुलबाट अफ्रिकन फरवार्ड साडीयो माने ल्याईसकेको म्युनिख अहिले युभेन्टसबाट डच सेन्टर ब्याक म्यथिस डे लिटको प्रकिया अघि बढाउँदैछ।
सेन्टर ब्याकका लागि युभेले कम्तिमा पनि ९० मिलियनको प्रस्ताव पेश गर्नुपर्ने बताईसकेको इटालियन रिपोर्टहरुले जनाएका छन्।
लेवान्डोवस्कीले बायर्न म्युनिखका लागि ३७५ खेल खेल्दै ३४४ गोल गरेका छन् भने ८ पटक बुन्देस्लिगा, एक पटक च्याम्पियन्स लिग, तिन पटक पोकल कप र अन्य गरेर झन्डै १९ उपाधि हात पारेका छन्।
ट्रान्सफर विन्डो बन्द हुने दिन नजिकिँदै जाँदा बार्सिलोनालाई पोलिस फरवार्ड भित्र्याउन निकै पापड बेल्नुपर्ने देखिन्छ।