हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| पछिल्लो समय लेभान्डोस्की बार्सिलोना जाने हल्लाले व्यापकता पाईरहँदा, पोलिस खेलाडीले बायर्नबाट अघाएको अभिव्यक्ति दिएका छन्।
म्युनिखमा सन् २०२३ सम्म आफ्नो सम्झौता भएपनि अब म्युनिखसँग खेल्ने कुनैपनि इच्छा नभएको उनले अन्तर्वार्तामा बताएका हुन्।
सिजन समाप्त हुनुभन्दा अगाडि देखि नै बार्सिलोना रोजेको बताइएपनि बायर्नले भने उनलाई छोड्न चाहिरहेको छैन।
जर्मन महारथीका लागि खेल्दै युरोप तथा विश्वका सर्वोत्कृष्ट फुटबल खेलाडी समेत बन्न सफल रोबेर्ट लेभान्डोस्कीले आफ्नो क्लवले कुनैपनि बाधा नपुर्याउने विषयमा सकारात्मक रहेको बताएका छन्।
पोल्याण्डका कीर्तिमानी गोलकर्ता रोबेर्टलाई बायर्नले लगातार दबाब दिएपनि यसपटक भने उनले मुख फोरेका छन्।
हाल पोल्याण्ड राष्ट्रिय टोलीमा मैत्रीपूर्ण खेलका लागि तयार रहेका रोबर्टले बायर्नसँगको भविष्यको बारेमा सोध्दा आफ्नो तर्फबाट बायर्न म्युनिखको अध्याय सकिएको जानकारी दिए।
“यो निश्चित छ, बायर्न म्युनिखसँग मेरो कथा समाप्त भएको छ,” उनले भने।
“हालैका महिनाहरूमा के भयो, म थप सहयोगको कल्पना गर्न सक्दिन।”
“यो ट्रान्सफर दुबै पक्षका लागि उत्तम समाधान हो। बायर्न मलाई राख्ने कुरामा गम्भीर छ तर मलाई विश्वास छ कि उनीहरूले मलाई रोक्ने छैनन्।”
बायर्न यस समरमा साडियो मानेसँग सम्झौता गरेर आफ्नो आक्रमण पंक्तिलाई बलियो बनाउन खोजिरहेको छ।
मानेले उक्त ट्रान्सफर सम्भव हुने आशामा लिभरपुललाई बिदाइ गरिसकेका छन्।
लेवान्डोवस्कीले बायर्न म्युनिखका लागि ३७५ खेल खेल्दै ३४४ गोल गरेका छन् भने ८ पटक बुन्देस्लिगा, एक पटक च्याम्पियन्स लिग, तिन पटक पोकल कप र अन्य गरेर झन्डै १९ उपाधि हात पारेका छन्।
आर्थिक समस्याले निकै सताइरहेको क्यातटन क्लबले रोबर्ट भित्रयाउन खोजेपनि सहज हुने छाटकाट भने देखिँदैन।
युरोपेली च्याम्पियन्स लिगमा खराब प्रदर्शन गरेपनि जाभीको आगमनसँगै घरेलु लिगमा भने पुनरागमन गर्दै दोस्रो स्थान हात पारेको बार्सिलोना, आगामी सिजन भरपर्दो स्ट्राइकर खोजेर घरेलु लिगमा थप चुनौती बढाउन चाहन्छ।