हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नयाँ सिजन नजिकिँदै जाँदा युरोपेली क्लबहरुले आफ्नो तयारी तीव्र पारेका छन्। जसअन्तर्गत नयाँ ट्रान्सफरहरु मिडियामा बढ्न थालेका छन्।
म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले पिएसजीले नेमार र बर्नार्दो सिल्भाको स्वाप डिलमा प्रस्ताव गरेको कुरालाई अस्वीकार गरेका छन्।
गत सिजन पनि सिल्भालाई मनाउन सफल भएका पेपले यस सिजन पनि पोर्चुगिज खेलाडीलाई क्लबमै राख्ने इच्छा व्यक्त गरेका छन्।
गत मंगलबार विभिन्न रिपोर्टहरुले पिएसजीले म्यानचेष्टर सिटीलाई उक्त प्रस्ताव गरेको कुरा सार्वजनिक गरेका थिए।
म्यानचेष्टर युनाइटेडका प्रमुख ट्रान्सफर टार्गेट रहेका बार्सिलोनाका मिडफिल्डर डी जोंगका लागि चेल्सीले पनि प्रस्ताव राख्ने भएको छ।
करिब एक साताअघि ७५ मिलियन प्रस्ताव स्वीकार गरेको बार्सिलोनाले त्यसपश्चात ट्रान्सफरलाई मुख्य दिशा दिन सकेको छैन।
मिडफिल्डरले च्याम्पियन्स लिग फुटबल रोजेका कारण चेल्सी पनि क्याटलन खेलाडीका लागि इच्छुक भएको हो।
आर्सनलले म्यान्चेष्टर सिटीका खेलाडी जिनचेनको भित्र्याएको छ। सन् २०२६ सम्म चल्ने सम्झौताको लागि आर्सनलले म्यान सिटिलाई ३० मिलियन तिर्ने भएको हो।
आफ्नै खेलाडी आर्सनल भित्रिएपछि म्यानचेष्टर सिटीले उक्त स्थानका लागि ब्राइटनबाट लेफ्ट ब्याक कुकुरेल्ला किन्ने तयारीमा छ।
खेलाडीसँग व्यक्तिगत सम्झौता लगभग तय भइसकेको अवस्थामा म्यानचेष्टर सिटीले अब ब्राइटनलाई शुल्कमा मनाउनुपर्ने छ।
इटालियन क्लब ए.एस रोमाले अर्जेन्टिनी खेलाडी पाउलो डिबालालाई क्लवमा सन् २०२५ का लागि अनुबन्ध गरेको छ।
युभेमा यसै सिजन सम्झौता समाप्त भएपछि फ्री एजेन्टको बनेका डिबालालाई जोसे माउरिन्होले रोमा भित्रन प्रेरित गरेको बताइएको छ।
म्यानचेष्टर युनाइटेडका पूर्व खेलाडी जेसे लिंगार्डका लागि नव प्रवेशी नाटिंघम फरेस्टले आफ्नो प्रस्ताव पठाएको छ।
पुरानो क्लब वेस्ट ह्याम फर्कने विचारमा रहेका जेसेका लागि वेस्ट ह्याम पनि इच्छुक रहँदा खेलाडीले भने निर्णय लिएका छैनन्।
आफ्ना स्टार डिफेन्डर म्यथिस डे लिटलाई विदाई गरेको युभेले, टोरिनोबाट सेन्टर ब्याक ग्लिसन ब्रिमर अनुबन्ध गर्ने भएको छ।